नेपालले एएफसी यू–१९ च्याम्पियनसिप अन्तर्गत समूह 'ए' को छनोट प्रतियोगिताको दोस्रो खेलमा बिहीबार बहराइनसँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार खेल आज दिउँसो ४ बजेर ४५ मिनेटमा सुरू हुनेछ।
पहिलो खेलमा घरेलु टिम किर्गिस्तानसँग पराजित भएको नेपालका लागि छनोट यात्रा जीवित राख्न आज बहराइनलाई हराउनैपर्ने बाध्यता छ। बहराइनले भने समूहमा पहिलो खेलनै नेपालविरुद्ध खेल्दैछ।
यसअघि मंगलबार नेपाल घरेलु टिमसँग २–० ले पराजित भएको थियो। समूहको अर्को खेलमा युएईले ओमानलाई ५–१ को फराकिलो अन्तरले हराएको थियो।
एएफसी यू–१९ च्याम्पियनसिपमा छनोट समूह 'ए' मा नेपालसहित युएई, ओमान, बहराइन र आयोजक किर्गिस्तान गरी पाँच टिम छन्।
नेपालको अब कात्तिक १८ मा युएईसँग र कात्तिक २२ गते ओमानसँग खेल्नेछ।
समूहमा शीर्ष स्थान हात पार्ने टिम एक वर्षपछि इन्डोनेसियामा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा छनोट हुनेछ। दोस्रो स्थान हात पार्ने टिमको पनि छनोट हुने सम्भावना हुनेछ।
सन् २०१८ को अक्टोबरमा इन्डोनेसियामा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा १६ टिमबीच प्रतिस्पर्धा हुनेछ। जहाँ आयोजक र १० वटा समूहको शीर्ष १० टिम तथा दोस्रो स्थान हात पारेका ५ टिम छानिनेछन्।
यस्तो छ नेपाली टिम अर्पण कार्की (कप्तान), प्रेजेन तामाङ, अभिषेक बराल, विश्वास उदास, असिम भुसाल, विकास खवास, राजन गुरुङ, सुमन अर्याल, आकाश श्रेष्ठ, निराजन महर्जन, रोमन लिम्बू, अशोक थापा, दिनेश हेम्जन, अभिषेक रिजाल, अनिल महर्जन, सेसेहाङ आङदेम्बे, अरिक विष्ट, रेजिन सुब्बा, धीरज श्रेष्ठ, सुरज ठकुरी, राजेश परियार, मनिष थापा, सोजित गुरुङ
मुख्य प्रशिक्षक - छिरिङ लोप्साङ गुरुङ
सहायक प्रशिक्षक - पुष्कर शाही
गोलकिपर प्रशिक्षक - मृगेन्द्र मिश्र