विश्वकै सर्वाधिक सफल क्लब बार्सिलोनाबाट किर्तिमानी रकममा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पुग्दा नेयमारको चर्चा एकपटक विश्वभर फैलियो। उनी पेरिस सेन्ट जर्मनमा आबद्ध हुँदा विश्व फुटबलमा विभिन्न अड्कलबाजी समेत गरिएका थिए।
यी सबैका अलावा नेयमारले सोचेकोजस्तै प्रदर्शन गरिरहेका छन्। उनले एघार खेल खेल्दै बाह्र गोल गरेर आफ्नो सशक्त क्षमता प्रदर्शन गरिरहेका छन्। पेरिस सेन्ट जर्मनले पनि उनलाई १० नम्बरकै जर्सी दिएको छ।
तर यस्तो स्थितिमा पनि नेयमार क्लबबाट खुसी देखिएका छैनन्। कारण हो, उनको र क्लबका म्यानेजर उनाई इमेरीबीच सम्बन्ध चिसिएको खबर। उनी प्रशिक्षकसँग पनि खुसी देखिएका छैनन्। अनावश्यक रूपमा म्यानेजरले खेलका क्रममा तथा प्रशीक्षणका क्रममा दिने निर्देशन पनि नेयमारलाई चित्त बुझेको छैन।
एक खेलका क्रममा अर्का उरूग्वेली स्ट्राइकर इडिसन काभानी र उनीबीच पेनाल्टी कसले हान्ने भन्ने विषयमा पनि विवाद भएको थियो। सहकर्मीसँगको यस्तो सम्बन्धले उनलाई पक्कै खेलमा गाह्रो पर्नेछ। फ्रान्सको चर्चित खेल पत्रिका ‘एल इक्वीप’ले जनाए अनुसार म्यानेजर उनाई इमेरासँग नेयमारको सम्बन्ध बिग्रिँदै गइरहेको छ। स्वयम् नेयमारले पनि केही महिनाअघि आफू जहिले बार्सिलोनाकै पलहरू सम्झिरहने बताएका थिए।
नेयमार ब्राजीली क्लब सान्तोसमै हुँदा उनलाई रियल मड्रिडले अनुबन्धन गर्न नखोजेको होइन। यसबीचमा ३२ वर्षिय सुपरस्टार क्रिस्टियाने रोनाल्डो पनि पिएसजीमै आउने चर्चा पनि चलेको छ। यस्तो स्थितिमा नेयमारलाई अप्ठेरो पर्न सक्ने विश्लेषकहरू बताउँछन्।