आइतबार राति सम्पन्न खेलमा चिभो भेरोनालाई ५–० ले पराजित गर्दै इन्टर मिलन इटालियन सिरी ‘ए’को शीर्ष स्थानमा उक्लिएको छ। घरेलु मैदानमा भएको खेलमा मिलानका लागि इभान पेर्सीकले ह्याट्रिक गरे। यस्तै थप गोल मौरो इकार्डी र मिलान स्क्रिनियरले गरेका थिए।
इन्टरको जितमा पेर्सीकले खेलको २३, ५७ र ९० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए। यस्तै इकार्डीले ३८ औं मिनेटमा र स्क्रिनियरले ६० औं मिनेटमा गोल गरेका थिए। आइतबार नै सम्पन्न अर्को खेलमा टोरिनो र एटलान्टाले बराबरी खेलेका छन्। त्यस्तै फियोरिन्टिनाले सासुउलोलाई ३–०ले पराजित गरेको छ।
जितसँगै इन्टर मिलानले नापोलीलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ। इन्टरले १५ खेलबाट ३९ अंक जोडेको छ भने दोस्रो स्थानमा झरेको नापोलीको ३८ अंक रहेको छ। तेस्रो स्थानको युभेन्टसको ३७ अंक र चिभो भेरोना २० अंकसहित १२ औं स्थानमा छ।