इंग्लिस प्रिमियर लिग लिडर म्यानचेस्टर सिटी सिजनको अपराजित यात्रा सकिएको छ। सिटीलाई आइतबार राति भएको खेलमा लिभरपुलले ४-३ गोलले हराएको हो।
लिगको २३ औँ खेलमा आएर म्यानचेस्टर सिटी पहिलो पटक पराजित भएको हो । लिभरपुलको जितमा ओक्सलेड चेम्बरलेन, रोबर्टो फिरमिनो, साडिओ माने र मोहम्मद सालहले एक एक गोल गरे । म्यानचेस्टर सिटीका लागि लिरोय साने, बेर्नार्डो सिल्भा र गुन्डोगानले एक एक गोल गरे पनि हार टार्न सकेनन् ।
खेलको नवौं मिनेटमा एलेक्स ओक्सलेड चाम्बलियनले गोल गरेर लिभरपुललाई अग्रता दिलाएका थिए। पहिलो हाफ सकिन ५ मिनेट बाँकी छदा लिरोए सानेले गोल गरेपछि म्यानचेस्टर सिटीले पहिलो हाफमा १-१ गोलको बराबरीमा ल्याए।
खेलको ५९ मिनेटमा रोबर्टो फिर्मिनोले गोल गर्दै लिभरपुललाई फेरि २-१ गोलले अघि बढाए। त्यसको दुई मिनेटपछि साडियो मानेले गोल गरेपछि लिभरपुलले अग्रता दोब्बर पार्यो। दुई मिनेटभित्र २ गोल गरेको लिभरपुलका लागि ६८ मिनेटमा मोहमद सलाहले चौथो गोल गरेका थिए।
बेर्नान्डो सिल्भाले ८४ मिनेटमा गोल गरेपछि सिटीले लिभरपुलको अग्रता ४-२ मा झारेको थियो। इन्जुरी टाइमको पहिलो मिनेटमा इल्के गुन्डोगनले सिटीका लागि तेस्रो गोल गरे पनि खेलमा फर्कन सकेन।
स्टार खेलाडी फिलिप कोन्टिन्हो बार्सिलोना गएपछिको पहिलो खेलमा नै लिभरपुलले लिग लिडर म्यानचेस्टर सिटीलाई हराएको हो ।
हारका बावजुद सिटी २३ खेलबाट ६२ अंक जोड्दै लिगको शीर्ष स्थानमा यथावत छ।
एक खेल कम खेलेको म्यान्चेष्ट युनाइटेड ४७ अंकसहित दोस्रो स्थानमा तथा २३ खेलबाट ४७ अंक नै जोड्दै लिभरपुल तेस्रो स्थानमा उक्लिएको छ। चौथो स्थानको चेल्सीको पनि ४७ अंक नै छ। पाँचौ स्थानको टोटनह्यामको ४४ र छैटौं स्थानको आर्सनलको ३९ अंक छ।
आर्सनल आइतबार भएको खेलमा वर्नमाउथसँग २-१ ले पराजित भयो।