फ्रेन्च लिग वान फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा मोनाको र नाइसले २ – २ गोलको बराबरी खेलेका छन्।
घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा मोनाको बराबरीमा रोकिएको हो। मोनाकोलाई बराबरीमा रोक्न नाइसका मारियो बालोटेलीले दुई गोल गरे। मोनाकोका आडमा डियाखाबे र राडमेल फाल्काओले एक–एक गोल गरे।
पहिलो हाफको ३३ औं मिनेटमा डियाखाबेको गोलबाट मोनाकोले सुरुवाती अग्रता लिएको थियो। खेलको ४७ औं मिनेटमा बालोटेलीले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए। त्यसपछि खेलको ६८ औं मिनेटमा बालोटेलीले व्यक्तिगत दोस्रो गोल गर्दै नाइसलाई २ – १ को अग्रता दिलाए। तर, खेलको ९० औं मिनेटमा फाल्काओले गोल गर्दै खेल २ – २ को बराबरीमा पुर्याए।
बराबरीपछि मोनाकोले लिगको दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ। लिगको तेस्रो स्थानमा रहेको मोनाकोले ४३ अंक जोडेको छ। ४४ अंक जोडेको मार्सेली दोस्रो र ५३ अंक जोडेको पिएसजी शिर्ष स्थानमा छ। नाइस ३१ अंक जोडेर लिगको छैटौं स्थानमा छ।