पोर्चुगिच स्टार क्रिस्टिायनो रोनाल्डोलाई बेच्न रियय म्याड्रिड तयार भएको अन्तर्राष्ट्रिय खेल सञ्चारमाध्यमहरुले जनाएको छन्। रियलका अध्यक्ष फ्लोरिन्टिनो पेरेजले चाहेको खण्डमा रोनाल्डोले क्लब छाड्न सक्ने संकेत गरेपछि स्पेनिस महारथी आफ्ना सुपर स्टारलाई विक्री गर्न तयार देखिएको हो ।
पूर्व सहमति अनुसारको नयाँ प्रस्ताव नआएपछि रोनाल्डो क्लबसँग असन्तुष्ट छन्। गत वर्ष टोलीलाई युरोपियन च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निभाएका रोनाल्डोले त्यसपछि उनको पारिश्रमिकमा बृद्धि गरिने सहमति भएको थियो।
स्पोर्टस मेलका अनुसार अध्यक्ष पेरेजले रोनाल्डोका एजेन्ट जर्ज मेन्डिसलाई अन्य क्लबको प्रस्ताव सुन्न भनेको छ। पेरेजले नै गत सिजन च्याम्पियन्स लिगपछि रोनाल्डोलाई नयाँ सम्झौता गर्ने बताएका थिए। तर, त्यो सहमति अनुसारको प्रक्रिया अघि नबढेपछि रोनाल्डोले क्लब छाड्न चाहेको बताइएको छ ।
रोनाल्डोको चाहना भने पुरानै क्लब म्यानचेस्टर युनाइटेड फर्कने रहेको बताइन्छ।
समाचार अनुसार रियललाई चौथो पटक च्याम्पियन्स लिग विजेता बनाएयता नै रोनाल्डो क्लबसँग असन्तुष्ट रहँदै आएका छन्। कर छलीको मुद्दामासमेत क्लबले असहयोग गरेको भन्दै रोनाल्डो रूष्ट छन्।
यसअघि स्पेनिस पत्रिका डेरिया एएसले पहिलो पटक रोनाल्डोले रियल छोड्न चाहेको समाचार पहिलो पृष्टमा छापेको थियो। पत्रिकाले रोनाल्डो युनाइटेड जान चाहेको उल्लेखसमेत गरेको थियो।