नेपाल एपिएफ क्लब सिमरामा जारी नवौं सिमरा गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। शुक्रबार आयोजक नवजनजागृति युवा क्लब (एनजेजेवाइसी) निलोलाई शुक्रबार २–० ले हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा एपिएफले गोलका लागि निकै संघर्ष गर्नुपरेको थियो। ४६ औं मिनेटमा अन्जन विष्टले पेनाल्टीमा गोल गर्न नसकेपछि दबाबमा परेको एपिएफका लागि अन्त्यतिर रवि थिङ र अन्जनका दाजु रञ्जनले गोल गरेका थिए।
रविले ७२ औं मिनेटमा गोल गरे भने रञ्जनले इन्जुरी समयको तेस्रो मिनेटमा गोल थपेका थिए। रञ्जन खेलको म्यान अफ दी म्याच घोषित भएका थिए ।