मोरङको चुनौती पन्छाउँदै थ्री स्टार क्लब नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
सिमरा रंगशालामा बुधबार मोरङ फुटबल क्लबलाई ४- २ ले हराउँदै थ्री स्टार सिमरा गोल्डकपको उपाधि नजिक पुगेको हो ।
चार सातामा लगातार चौथो गोल्डकपको फाइनलमा पुग्ने क्रममा बुधबार थ्री स्टारको जितमा सुनिल बलले २, विष्णु गुरुङ र अनन्त तामाङले १/१ गोल गरे। कर्ण लिम्बुले मोरङका लागि २ गोल फर्काए।
खेलको २४ औं मिनेटमा विष्णु गुरूङले गोल गर्दै थ्री स्टारलाई सुरूवाती अग्रता दिलाए। ३८औं मिनेटमा सुनिलले गोल गरेपछि थ्रि स्टार पहिलो हाफमा २-०ले अघि रह्यो।
दोस्रो हाफमा केही सम्हालिएर खेलेको थ्रिस्टारका लागि सुनिललेनै ४९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थप्दै खेललाई ३-० मा पुर्याए। त्यसपछि खेलको ७७ औं मिनेटमा अनन्तले गोल गर्दै टिमलाई ४-०को अग्रता दिलाए।
खेल सकिन १० मिनेट बाँकी रहँदा थ्री स्टार प्रशिक्षक मेघराज केसीले गोलकिपर एलन न्यौपानेलाई परिवर्तन गरे। त्यसको फाइदा मोरङले लियो। मोरङका लागि कर्ण लिम्बुले ३ मिनेटको फरकमा २ गोल गरेपछि खेल रोमाञ्चक मोडमा पुग्यो।
कर्णले ८१ औं र ८४ औं मिनेटमा गोल गर्दै अन्तर ४-२ मा पुर्याए। तर त्यसपछिका केही राम्रा प्रहार थ्रि स्टारका गोल रक्षकले विफल बनाएपछि पूर्वेली क्लब मोरङ घर फर्कन बाध्य भयो।
अब थ्री स्टारले फाइनलमा त्रिभुवन आर्मी र वीरगन्ज युनाइटेडको विजेतासँग खेल्नेछ।
यसअघि थ्री स्टारले गत महिना ३ फाइनल खेल्दा २ मा उपाधि जितेको थियो।
माघ १३ गते मदन स्मृति इटहरी गोल्डकप जितेको थ्री स्टारले माघ २७ गते धरानमा २० औं बुढासुब्बा गोल्डकपको उपाधि उचालेको थियो।
यस्तै माघ २० गते पोखरामा भएको आहा रारा गोल्डकपको फाइनलमा उपविजेता भएको थियो।