आगामी चैत १४ गते हुन गईरहेको अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षका दाबेदार देखिएका पूर्व उपाध्यक्ष कर्मा छिरिङ शेर्पाले एन्फालाई बचाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
अधिवेशन नजिकिदै गर्दा नेतृत्वको लागि जिल्ला दौडाहमा निस्किएका शेर्पाले शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा एन्फा सुद्धिकरण आफ्नो प्रमुख मुद्दा रहेको बताए।
‘एन्फामा साम्राज्य फैलाउन खोज्नेहरुका बिरूद्ध चेन्ज एन्फा भन्ने नाराका साथ म चुनावी मैदानमा जाँदैछु’, उनले भने, ‘जसले काम गर्न सक्दैन उसलाई परिवर्तन गर्ने हैसियत राख्नुपर्ने र त्यसको अभियान समेत सुरू भएको छ।’
फुटबललाई पूर्ण व्यवसायीक बनाउन अल्पकालिन दिर्घकालीन योजना बनाउँदै तल्लो तहमा स्थायी संरचना निर्माण र खेलाडी उत्पादन आफ्ना प्रमुख एजेण्डा हुने उनले बताए। ‘फुटबलको विकासमा लाग्नुपर्ने नेतृत्वले जिल्ला संरचनालाई ध्वस्त पार्ने काम गरेको छ यस्तो कार्यले खेल र खेलाडीको विकास कसरी हुन्छ?’
उनले वर्तमान नेतृत्वको खरो आलोचना गर्दै भने, ‘फुटबलमा परिवर्तन चाहनुहुन्छ भने मलाई सहयोग गर्नोहोस् अन्तर्राष्ट्रिय जगतमा नेपालको गिरेको रेन्किङलाई सुधार्ने मेरो प्रतिवद्धता हो।’
शेर्पासँगै टिममा आएका पूर्व कप्तान हरि खड्काले फुटवलमा नेतृत्वको असक्षमता नै प्रमुख बाधक रहेको बताए। फुटबलको भौतिक विकाससँगै अन्य प्राविधिक पक्षलाई ध्यान दिन नसक्दा दिनप्रतिदिन नेपाली फुटवलको स्तर गुम्दै गएको उनको भनाई थियो ।
सरकारले खेलकुदलाई हेर्ने दुष्टिकोण, भौतिक पूर्वाधार विकास र ग्रास लेवलको प्रतियोगितालाई निरन्तरता नदिनु र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन नसक्दा नेपाली फुटबल ओरालो लागेको पूर्वकप्तान खड्काले गुनासो गरे।
फुटबलको नेतृत्व परिवर्तन भएमा नेपाली फुटबल विकासको बाटोमा लम्कन्छ भन्ने अपेक्षा पूर्वखेलाडीहरूमा रहेको भन्दै खड्काले शेर्पालाई समर्थन रहेको जनाए।
त्यसै गरि अर्का पूर्वराष्ट्रिय टिमका कप्तान उपेन्द्रमान सिंहले नेपाली फुटबललाई सही दिशामा अगाडि बढाउन एन्फामा भएको अपारदर्शीताको अन्त्य हुनुपर्ने बताए।
रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष दिर्घबहादुर केसीले मोफसलमा सञ्चालित एकेडेमीलाई बृद्धि विकास गर्नुभन्दा एन्फा नेतृत्वले एकेडेमी अस्तव्यस्त पार्ने काम गरेको बताए।
उनले फुटबलको विकासका लागि सक्षम नेतृत्व लाई छनोट गर्न जिल्लाको तर्फ बाट सेर्पालाई सहयोग गर्ने प्रतिबद्धता गरे। चैत १४ गते एन्फाको अधिवेशन हुँदैछ।