मोफसलको सर्वाधिक पुरानो प्रतियोगिता तिलोत्तमा गोल्डकपको २० औं संस्करणको उपाधिका लागि शनिबार विभागीय टिम नेपाल पुलिस र थ्रि स्टार भिड्दैछन्।
बुटवलको एन्फा टेक्निकल सेन्टर देविनगरमा दिउँसो ३ बजे हुने फाईनल प्रतिस्पर्धाका लागि दुवै टिम तयार भएका छन्। पहिलो सेमिफाईनलमा आयोजक रूपन्देही ११ को चुनौती सडन डेथमा पन्छाउँदै फाईनलमा पुगेको नेपाल पुलिस क्लब तिलोत्तमा गोल्डकप संस्करणको पाँचौ उपाधि उचाल्ने योजनामा छ ।
यता दोस्रो सेमिफाईनलमा बलियो प्रतिश्पर्धि मनाङ मर्स्याङ्दीलाई २–१ ले हराउँदै फाईनलमा पुगेको थ्रिस्टारले तिलोत्तमा गोल्डकपको २० औं संस्करणको उपाधि उचाल्ने गरी मैदानमा उत्रिदै छ।
दुई वर्षपछि फुटवलमा पुनरागमन गरेको थ्रीस्टार र नेपाल पुलिस क्लव यस वर्ष मात्र तीन पटक फाईनलमा भिड्दै छन्।
माघ १३ गते मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाईनल खेलेका यी दुई टोलीको भेट त्यसपछि चितवनमा भएको थियो।
फाईनल खेल हुनुअघि गरिएको म्याच कन्फ्रेन्समा दुवै टिमका टिम क्याप्टेनले गोल्डकप उचाल्ने लक्ष्यका साथ मैदानमा उत्रने बताए ।
नेपाल पुलिस क्लवका टिम कोच अनन्त थापाले युवा खेलाडीहरुको जोस र जाँगर नै खेल जित्ने आधार रहेको बताए। ‘सेमिफाईनलको खेलमा सोचे जस्तो खेल प्रदर्शन गर्न सकिएन त्यसबाट पनि पाठ सिक्दै फाईनलमा उत्कृष्ट प्रदर्शन गर्ने छौं,’ उनले भने ।
पुलिसका टिम क्याप्टेन रबिन खड्काले रुपन्देही आफ्नो टिमको लागि होम ग्राउण्ड जस्तै रहेको बताए। खेल जित्ने या हार्नेको सम्भावना ५०/५० प्रतिशत भए पनि आफ्नो टिममा उत्कृष्ट फरवार्डर रहेको हुँदा प्रतियोगिता जिन्ने दाबी गरे।
त्यसै गरि डेढ वर्षको बिश्रामपछि पुनः खेलमा फर्किएको थ्रिस्टारका टिम क्याप्टेन मेघराज केशीले उत्कृष्ट खेल प्रदर्शन गर्ने दाबी गरे। उनले उपाधिका लागि अनुभवि खेलाडी रहेको बताए। ‘केही दिनअघि भएका प्रतियोगितामा पनि थ्रिस्टारको उत्कृष्ट खेल प्रदर्शन रहेकोले तिलोत्तमा गोल्डकप जित्नेमा हामी बिश्वस्त छौं,’ उनले भने।
थ्रिस्टारका टिम क्याप्टेन निराजन खड्काले खेल निकै प्रतिश्पर्धात्मक हुने स्वीकार गर्दै जोशिला खेलाडीले महत्वपूर्ण अवसरको सदुपयोग गर्ने बताए।
बुटवल नगरपालिकाले विस २०३१ सालमा स्थापना गरेको प्रतियोगिता २०३३ साल बाट सुरु भएको थियो । नेपालका ए डिभिजन क्लबसहित १० टोलीको सहभागिता रहेको प्रतियोगिताको पछिल्लो संस्करण सिएमजी क्लब संकटाले जितेको थियो ।
गोल्डकपको विजेताले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ र उपविजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।