विराटनगरमा पहिलो पटक डे-नाइट फुटबल हुने भएको छ। विराटनगरमा आयोजना हुने विराट गोल्डकपको पाँचौ संस्करण दिवा र रात्रिकालीन (डे–नाईट) समयमा हुने आयोजकले जनाएको छ।
विराटनगरमा आइतबार पत्रकार सम्मेलन गरेर आगामी चैत १७ देखि हुने प्रतियोगिता दिवा र रात्रिकालिन हुने जनाइएको हो।
विराटगरको शहिद मैदानमा हुने प्रतियोगिता यसअघि दिउँसो मात्र हुने गरेको थियो।
गोल्डकप आयोजक समितिका अध्यक्ष नविन रिजालका अनुसार रात्रिकालीन समयमा फ्लडलाइट म्याच खेलाउने तयारी भएको हो। ‘यस पटक भिन्न तरिकाबाट रात्रिकालीन खेल खेलाउन लागिएको हो,’ पत्रकार सम्मेलनमा उनले भने, ‘त्यसका लागि प्रतियोगिता आयोजनास्थल सहिद रंगशाला वरपर ६ वटा बत्ती जडान गर्दै पर्याप्त मात्रमा लाइटको व्यवस्था गरिने भएको छ।’
प्रतियोगिताको उद्धघाटन खेल साँझ ५:३० बजे र त्यसपछि हरेक खेल साँझ ६ बजेपछि खेलाइने भएको छ।
दिवाकालीन समयमा मात्रै प्रतियोगिता आयोजना गर्दा दर्शकको साथ त्यति नपाइएको विगतलाई हेरेर दर्शक आकर्षित गर्न आयोजकले यस वर्ष नयाँ उपाय अपनाएको हो। ‘विद्यार्थी, कर्मचारी, व्यवसायीलगायत सबै पेशाकर्मीलाई समय व्यवस्थापन गर्न सजिलो होस र प्रतियोगिता रोमाञ्चक बनोस भनेर डे–नाइट खेल आयोजना गरिएको हो,’ अध्यक्ष रिजालले भने।
फुटबलप्रतिको आकर्षण बढाउन र नेपाली खेलाडीलाई अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउन यस्तो प्रयास गरिएको उनले बताए। स्थानीयलाई विदेशी खेलाडीसँग खेल्ने अवसर प्रदान गर्दै खेललाई व्यवसायिक बनाउने प्रयास गरिएको आयोजकले बताएको छ।
विभिन्न प्राविधिक कारण देखाउँदै गत वर्ष हुन नसकेको प्रतियोगिता यस वर्ष ‘विराटनगरको साथ, फुटबलको विकास’ भन्ने मूल नारा दिएर गोल्डकप आयोजना गर्न लागिएको हो।
गोल्डकपलाई भव्य र सभ्य बनाउन भन्दै विभिन्न २६ वटा उपसमितिहरु गठन गरिएका छन्।
प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटानका १० टिमको सहभागिता रहने छ।
भुटानको थिम्पु फुटबल क्लब र बंगलादेशको बंगलादेश स्पोर्टिङ क्लबले गोल्डकपमा भाग लिनेछन्। भारतको सिक्किम युनाइटेड वा मोहमडन स्पोर्टिङ क्लब मध्ये एउटाले सहभागिता जनाउनेछ।
नेपालका मनाङ मर्स्याङ्दी क्लब, सशस्त्र प्रहरी बल, थ्री स्टार, नेपाल पुलिस क्बल, नेपाल आर्मी, झापा ११ र आयोजक मोरङ ११ गरी सात वटा टिमको सहभागिता रहने छ।
यसअघि २०७२ सालको उपाधि नेपाल पुलिसको जितेको थियो।
प्रतियोगितामा विजेताले १२ लाख ७१ हजार र उपविजेताले पाँच लाख ५१ हजार रुपैयाँ नगद राशिको पुरस्कार प्राप्त गर्ने छन्।
प्रत्येक दिनको खेलमा म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार रुपैयाँ नगद र शील्ड प्रदान गरिने छ।
म्यान अफ दी टुर्नामेन्ट हुने खेलाडीले मोटरसाइकल पाउनेछन्। उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, मिड फिल्डर, डिफेन्स, फरवार्ड, टिम व्यवस्थापक एवं सर्वाधिक गोलकर्ता र टिम मध्येका उत्कृष्ट सबैलाई २५/२५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
सहभागी सबै टिमलाई प्रोत्साहन पुरस्कारसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।
प्रत्येक दिनको खेलहरु हेर्न चाहने दर्शकलाई दैनिक टिकटको अलावा एक हजार पाँच सय रूपैयाँको सिजनल टिकटको समेत व्यवस्था गरिएको जानकारी रिजालले दिए।
आयोजकले प्रतियोगितामा १ करोड खर्च हुने अनुमान गरेको छ।
२०१८ सालबाट महेन्द्र गोल्डकपका नाममा सञ्चालित प्रतियोगिताको नाम २०६७ सालदेखि विराट गोल्डकप बनाइएको थियो। २०६८, २०६९, २०७१ र २०७२ सालमा भने विराट गोल्डकपका नाममा प्रतियोगिता सञ्चालन गरिएको थियो।