दोस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विर्ता युनाइटेड क्लव झापाले जितेको छ। आइतबार भएको फाइनल खेलमा न्यू स्टार क्लव सुनसरीलाई ४–१ गोल अन्तरले पराजित गर्दै विर्ता युनाइटेडले उपाधि उचालेको हो।
विर्ता युनाइटेडका लागि खेलको तेस्रो मिनेटमै नवयुग श्रेष्ठले गोल गर्दै अग्रता दिलाए। ३३ औँ मिनेटमा न्यू स्टारका निशान लिम्बूले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
तर, दोस्रो हाफ सुरु हुनासाथ ४७ औँ मिनेटमा विर्ता युनाइटेडका लागि पुष्प मादेनले गोल गरे। निक्कै प्रतिस्पर्धात्मक खेलको ५७ औँ मिनेटमा विर्ता युनाइटेडका पुजन उभरकोटीले गोल गर्दै अग्रता अझ पराकिलो पारे। यस्तै खेलको ७५ औँ मिनेटमा विर्ता युनाइटेडका लागि नवयुग श्रेष्ठले अर्को गर्दै गोलअन्तरलाई ४–१ बनाए ।
प्रतियोगिताको उपाधिसँगै विर्ता युनाइटेडले ३ लाख ५ हजार ५ सय ५५ रुपैँया, ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएको सुनसरीले १ लाख ५५ हजार ५५५ रुपैँया, ट्रफी र मेडल प्राप्त गर्यो।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै विर्ता युनाइटेडका नवयुग श्रेष्ठले टीभीएस कम्पनीको मोटरसाइकल हात पारे। प्रतियोगितामा १ ह्याट्रिक सहित ६ गोल गर्दै श्रेष्ठ सर्वाधिक गोलकर्ता समेत बने। फाइनल खेलको म्यान अफ दी म्याच न्यू स्टारका हेमन्त थापा मगर घोषित भए।
प्रतियोगिताका विजेता तथा उपविजेता सहित उत्कृष्ट खेलाडीहरुलाई प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङ, जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटा, प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष मित्रप्रसाद काफ्ले लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
पाँचथर क्लवले नयाँ वर्षको अवसरमा प्रतियोगिता आयोजना गरेको हो। गत वर्षबाट प्रतियोगिता आयोजना गर्न थालिएको हो । प्रतियोगिताको पहिलो संस्करण पनि विर्ता युनाइटेडले नै जितेको थियो ।