ब्राजिलीयन स्टार खेलाडी नेइमारले विश्वकप फुटबलका लागि आफू फिट हुने दाबी गरेको छन्। महङ्गो मूल्यमा यसै सिजन पिएसजी गएका नेइमार फ्रेन्च लिग वान अन्तर्गतको खेलमा खुट्टामा चोट लागेपछि फेब्रुअरी २५ देखि मैदान बाहिरै छन्।
यसैबीच साओ पाउलोमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेइमारले आफू रिकभर भइरहेको भन्दै विश्वकपमा फिट हुने बताएका हुन्। उनका अनुसार मे १७ देखि प्रशीक्षणमा फर्किनेछन्।
उनले आफू विश्वकपमा उच्च लयका साथ आउने विश्वास लिएको बताए।
गएको साताको स्वास्थ्य परीक्षणमा राम्रो देखिएको भन्दै उनले मे १७ मा हुने अन्तिम परीक्षणपछि आफू खेल्नका लागि स्वतन्त्र हुने बताए।
नेइमारले यसअघि घरेलु मैदानमा भएको सन् २०१४ को विश्वकपमासमेत खेलेका थिए।
पाँच पटकको विश्व विजेता ब्राजिल सेमिफाइनलमा जर्मनीसँग ७–१ ले पराजित भएको बेला उनी चोटका कारण मैदान बाहिर थिए।
रूसमा हुने विश्वकप फुटबलमा पहिलो खेल ब्राजिलले जुन १७ मा स्वीट्जरल्याण्डसँग खेल्दैछ। यसका लागि नेइमार एक महिनाअघिनै अभ्यासका लागि मैदान आउने अपेक्षा ब्राजिलले गरेको छ। यो सिजन पिएसजीका लागि उनले १६ गोल गरिसकेका छन्। उनको टोली यसअघिनै फ्रेन्च लिग च्याम्पियन भइसकेको छ।