मणि शाह, नेपालका चर्चित फुटबलर। जो नेपाली म्याराडोनाको नामले चिनिन्छन्। उनको ‘ड्रिब्लिङ’ कला र ‘स्पट किक’को चर्चा नगर्ने सायदै भेटिन्छन्, दक्षिण एसियामा। सन् १९९३ को दक्षिण एसियाली खेलकुद (साग) मा देशलाई स्वर्ण जिताउन उनले अभूतपूर्व खेल प्रदर्शन गरेका थिए बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा। त्यतिबेला फाइनल खेल सकिन दुई मिनेट बाँकी रहँदा नेपाल २-१ ले भारतसँग पछाडि परेको थियो। तर, यो नतिजा उल्ट्याउँदै उनले नेपाललाई स्वर्ण दिलाउन महत्वपूर्ण योगदान गरे। फाइनलमा उनले फ्रिकिकमार्फत बराबरी गोल गरेका थिए भने पेनाल्टी सुटआउटमा अर्को गोल गरेपछि नेपाल टाइब्रेकरमा ५-४ गोलले विजयी भएको थियो।
हेर्नुहोस् भिडियोमाशाहले आफ्नो डेढ दशक लामो फुटबल जीवनमा ६ जना विदेशी प्रशिक्षकबाट प्रशिक्षण लिने सौभाग्य पाए। जसमा उनी आफ्नो खेल परिवर्तन गराउने दुई प्रशिक्षकबाट बढी नै प्रभावित छन्। ती प्रशिक्षक हुन्, ब्राजिलका सान्तोष र आइरिस जो किन्नर।
शाह पहिले फरवार्ड पोजिसनमा खेल्थे। तर, इङ्ल्यान्डको चर्चित क्लब टोटेनह्याममा १० सिजन बिताएका डिफेन्डर जो किन्नर प्रशिक्षकको भूमिकामा सन् १९८७ मा नेपाल आएपछि उनको भूमिका नै फेरियो।
सन् १९८६ थाइल्यान्डको राजधानी बैंककमा ओलम्पिक छनोट खेल्दा नेपालको खेल हेर्न किन्नरलाई पनि बोलाइएको थियो। त्यतिबेला किन्नर भारतको प्रशिक्षक थिए। उनलाई राष्ट्रिय टोलीको नेतृत्व सुम्पिन गोप्य रूपमा बैंकक बोलाइएको थियो। उनले नेपाली टोलीको नेतृत्व लिनुअघि बैंककमा बसेर खेल हेरेका थिए। थाइल्यान्डसँग भएको खेलमा नेपाल २-१ ले पराजित भयो। जुन खेलमा फरवार्डको भूमिका निर्वाह गरिरहेका मणिको खेलाइबाट किन्नर निकै प्रभावित भएछन्।
उनले सन् १९८७ को साफ गेमका लागि प्रशिक्षण दिन काठमाडौं आउनेवित्तिकै सबैभन्दा पहिले मणिको पोजिसन परिवर्तन गरे।
‘मलाई फरवार्डबाट मिडफिल्डमा सार्ने क्रममा उहाँ (जो किन्नर) को भनाई थियो, मेरो स्किल राम्रो छ। फेरि सुट पनि कडा हान्छौ भन्नु हुन्थ्यो,’ करिब २९ वर्ष अगाडिको कुरा सम्झिँदै मणि भन्छन्।
नेपाली राष्ट्रिय टोलीलाई प्रशिक्षण दिन आएका विदेशी प्रशिक्षकमा जो सबैभन्दा प्रोफाइल भएको प्रशिक्षक मानिन्छन्। उनी मिडफिल्डमा मणि र उमेश प्रधानको खेलबाट निकै प्रभावित थिए।
‘रूडी निकै कडा प्रशिक्षक हुन्। उनको तुलनामा जो केही नम्र थिए। उनी अनुशासनमा बसेर खेल भन्थे,’ मणि भन्छन्।
उनी आफूलाई फ्रिकिकको विशेषज्ञ बनाउन ब्राजिलका प्रशिक्षक सान्तोषको ठूलो भूमिका रहेको बताउँछन्। सन् १९८९ मा छोटो समयका लागि सान्तोष नेपाल आएका थिए। त्यतिबेला मणिको तौल पनि केही बढेको थियो। ‘उनले मलाई यति पेलाउँथे। तौल सटाकसुटुक घट्यो। त्यतिबेला उनी काठलाई मान्छेको स्वरुपमा ढालेर लामो पर्खाल बनाउँथे र मलाई घण्टौं गोल पोष्टमा हान्न भन्थे,’ मणि सम्झन्छन्, ‘यसले मेरो बायाँ पाखुराको मासु च्यातियो पनि।’
तर, सान्तोषको त्यो ट्रेनिङले उनको खेल जीवनमै परिवर्तन ल्यायो। जब उनले सन् १९९३ को साग गेममा भारतविरुद्ध फाइनलमा फ्रिकिकमार्फत गोल गरे। त्यो गोल अहिले पनि नेपाली फुटबलमा आकर्षक मानिन्छ। उनले भारतका ७ खेलाडीले बनाएको ‘वाल’ तोड्दै फ्रिकिकमार्फत गोल गरेका थिए। ‘त्यतिबेलासम्म हामीकहाँ छुट्टै फ्रिकिकको अभ्यास हुँदैन थियो। अझ काठको पर्खाल बनाएर अभ्यास गराउनु कल्पनै नगरेको विषय,’ यी पूर्वस्टार भन्छन्।
सन् २००४ को युरो कपको सिलसिलामा विदेशी च्यानललाई अन्तर्वार्ता दिने क्रममा भारतका पूर्वस्टार भाइचुङ भुटियाले मणि शाहको विषयमा भनेका थिए- मेरो नजरमा दक्षिण एसियाली देशमा युरोपको स्ट्याण्डर्डमा खेल्न सक्ने खेलाडी मणि शाहमात्र हुन्।
सम्बन्धित समाचार : पूर्वनेपाली फुटबलर मणि शाहको निधनसेतोपाटी अर्काइभबाट