अखिल नेपाल फुटबल क्लब एन्फाले ३ वर्षदेखि रोकिएको सहिद स्मारक ए डिभिजन लिगको मिति घोषणा गरेको छ। काठमाडौंमा भएका १४ वटा ए डिभिजन क्लब संलग्न लिग आगामी असोज १३ गतेदेखि माघ १६ गतेसम्म हुने भएको हो।
नवनिर्वाचित एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले धेरै समय रोकिएको सहिद स्मारक ए डिभिजन लिगको मिति घोषणा गरेका हुन्।
राष्ट्रिय टोलीका पूर्व खेलाडी एवंम् नेपाल पुलिसका पूर्व एआइजी विज्ञानराज शर्माको संयोजकत्वमा लिग कमिटी गरेको थियो । सोही कमिटीले १४ ए डिभजन क्लबका पदाधिकारीसँगको पटक पटकको छलफल पछि लिग आयोजनाको मिति तय भएको बताइएको छ। एन्फा मुख्यालयमा बसेको कमिटिको बैठकले असोज १३ गतेबाट ‘ए’ डिभिजन लिग सुरु गरेर माघ १६ गते सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
लिग कमिटिले एउटा टोलीले कम्तीमा १८ खेलाडी दर्ता गर्नु पर्ने र बढीमा ३५ खेलाडी राख्न पाउने प्राबधान राखेको छ । लिगमा एउटा टोलीले ४ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने र एकपटकमा मैदानमा ३ खेलाडीलाई उतार्न पाउनेछन । खेलाडी दर्ता प्रक्रिया भदौ १५ बाट सुरु हुने बताइएको छ ।
ए डिभजन लिग २०७० सालयता हुन सकेको छैन । राष्ट्रिय लिगको पछिल्लो पटक २०७२ मा आयोजना भएको थियो । यसपटकको ‘ए’ डिभिजन लिगमा १४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । लिगमा रुस्लान थ्री स्टार क्लब, लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, नेपाली एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, जावलाखेल युथ क्लब छन् ।
त्यस्तै फ्रेन्डस् क्लब, संकटा क्लब, मच्छिन्द्र क्लब, सरस्वती युवा क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज क्लब हिमालयन शेर्पा क्लबले ए डिभिजनमा प्रतिस्पर्धा गर्नेछन् । च्यासल र एनआरटी ‘बी’ डिभिजन बाट पछिल्लो पटक एमा बढुवा भएको थियो ।
खेल कुन मैदानमा हुने एन्फाले भनेको छैन।