पोखरेली फुटबल खेलाडी तथा प्रशिक्षक किरण श्रेष्ठ नेपाली फुटबल टिमको सहायक प्रशिक्षकमा नियुक्त भएका छन्।
बंगलादेशमा आयोजना हुने साफ फुटबल च्याम्पियनसिपका लागि एन्फाले किरणलाई सहायक प्रशिक्षकको जिम्मा दिएको हो। टिमको प्रशिक्षकमा बालगोपाल मर्हजन छन्। श्रेष्ठ बिहीबार नै पोखराबाट काठमाडौं लागेका छन्।
पोखराबाट आफ्नो फुटबल खेल जीवन सुरू गरेका ४२ वर्षीय किरण यसअघि सहारा क्लबको स्थापनासँगै फुटबलमा उदाएका थिए। लिग तथा राष्ट्रिय प्रतियोगिताहरूमा ललितपुरको ‘ए’ डिभिजन क्लब जावलाखेल युथ क्लबबाट २०५६ देखि २०६१ सम्म खेलेका उनले सो टिमको कप्तानीसमेत गरेका थिए।
सहारा क्लब पोखराको टिम प्रशिक्षकमा रहेर कार्यरत किरणले अहिले एन्फा कास्कीमा रहेर स्वयंसेवी प्रशिक्षकका रूपमा ग्रास रुट फुटबलमा समेत जिम्मेवारी सम्हालिरहेका छन्।
कास्की एन्फाले सञ्चलान गरेको ग्रास रुटका विभिन्न कार्यक्रममा किरणले प्रशिक्षण दिइरहेका छन्।
पोखराबाटै खेल जीवन सुरू गरेका पूर्वराष्ट्रिय खेलाडी कृष्ण थापापछि यस पोखराबाट नेपाली फुटबल टिमको सहायक प्रशिक्षकको जिम्मा पाउने श्रेष्ठ हुन्।
थापाले राष्ट्रिय टिमको प्रशिक्षकको रूपमा काम गरिसकेका छन् भने हाल एन्फाको उपाध्यक्षको रूपमा कार्यरत छन्। यसअघि पोखराका पूर्वराष्ट्रिय खेलाडी डम्बर गुरुङले राष्ट्रिय यू–१६ फुटबल टिमलाई प्रशिक्षण दिएका थिए।
दक्षिण एसिया फुटबल प्रतियोगिता (साफ)भदौ १९ गतेदेखि ३० सम्म बंगलादेशको ढाकामा हुँदैछ।