पारा राष्ट्रिय खेलकुद च्याम्पियनसीप २०७५ अन्तर्गत एम्पुटी फुटबल प्रतियोगितामा रेड नेपाल विजयी भएको छ।
शनिबार ललितपुरको सेन्ट जेभियर्स स्कुलको मैदानमा त्रिभुवन आर्मी र रेड नेपालबीच भएको फाइनल खेलमा रेड नेपालले पेनाल्टीमार्फत् गोल गर्दै विजयी बन्न सफल भएको हो।
निर्धारित ५० मिनेटको खेलमा दुबै पक्षले गोल सकेनन्। अन्त्यमा पेनाल्टीमार्फत् रेड नेपालका १८ वर्षीय खेलाडी युवक लामाले गोल गर्न सफल भए र उसको गोल नै निर्णायक बन्यो।
आयोजकले विजेतालाई ट्रफी, मेडल र सर्टिफिकेट हस्तान्तरण गर्यो।
प्रतियोगितामा ‘बेस्ट गोलकिपर’को उपाधि चेत नारायण खनालले पाउन सफल भए भने ‘बेस्ट प्लेयर’ सुजन कार्की बन्न सफल भए। उनीहरू दुबै रेड नेपालकै खेलाडीहरू हुन्।
यो प्रतियोगिता नेपालमै पहिलो पटक भएको हो।
हेर्नुहोस् तस्बिरहरू :
सबै तस्बिरहरू : निशा भण्डारी
के हो एम्पुटी फुटबल?
‘एम्पुटी’ को नेपाली अर्थ काटिएको भन्ने हुन्छ। अर्थात् हात वा खुट्टा काटिएको। दुर्घटना वा अन्य कारणले खुट्टा काटिएर अपांगता भएका युवालाई समेटेर खेलाइने फुटबल नै एम्पुटी फुटबल हो। गोलीगाँठाभन्दा माथि काटिएको र एउटा हात काटिएका व्यक्ति एम्पुटी फुटबल खेल्न योग्य हुन्छन्। हात काटिएकाले भने गोलरक्षक मात्र बन्न पाउँछन् । दुवै खुट्टा काटिएकाको हकमा एउटा कृत्रिम खुट्टा लगाएर खेल्न सकिन्छ।
एउटा टिममा गोलरक्षकसहित ७ खेलाडी हुन्छन् । गोलरक्षकबाहेकका खेलाडीले ‘एल्बो क्रचेज’ को सहाराले खेल्नुपर्छ। खेलका क्रममा नियोजित रूपमा ‘एल्बो क्रचेज’ को प्रयोग गर्न पाइँदैन।
एम्पुटी फुटबल मैदान ६० मिटर लामो र ४० मिटर चौडा हुन्छ। ५० मिनेटको खेल हुन्छ, जसलाई २५/२५ मिनेटको दुई हाफ हुन्छ । बीचमा १० मिनेटको विश्राम हुन्छ । गोलरक्षकले पेनाल्टी एरियाबाट बाहिर निस्कन पाउँदैनन्। बाहिर निस्किएर बल छोएमा रातो कार्ड देखाइने छ भने विपक्षीलाई पेनाल्टी अवसर दिइनेछ।