वीरगन्जमा आयोजित दोस्रो विशाल मेमोरियल गोल्डकप फुटबलको उपाधि आर्मी क्लबले जितेको छ।
डिफेन्डिङ च्याम्पियनसमेत रहेको त्रिभुवन आर्मी क्लबले शनिबार भएको फाइनलमा हिमालयन शेर्पा क्लबलाई सडन डेथमा हराउँदै लगातार दोस्रो पटक उपाधि जितेको हो।
वीरगन्जको नारायणी रंगशालामा निर्धारित समयसमम् दुबैले १-१ गोल गरेपछि खेलको निर्णय सडनडेथसम्म पुगेको थियो।
खेलको सुरूवातमै हिमालयन शेर्पाले गोल गर्दै खेलमा अग्रता बनाएको थियो। खेलमा १८ औं मिनेटमा अमर डंगोलको पासमा विश्वास श्रेष्ठले गोल गर्दै शेर्पालाई अग्रता दिलाएका थिए।
तर, दोस्रो हाफमा आर्मीले बराबरी गोल फर्कायो।
निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले एक-एक गोल गरेपछि खेल सिधै ट्राइबेकरमा धकेलिएको थियो।
ट्राइबेकरमा पनि दुवै टिमबाट चार-चार गोलको बराबरी भएपछि खेलको अन्तिम निर्णय सडनडेथबाट गरिएको हो।
सडन डेथमा हिमालयन शेर्पाका आशिष गुरूङको प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले उत्कृष्ट बचाएका थिए। त्यसपछि आर्मीका विकेश कुथु र टेकबहादुर बुढाथोकीले गोल गर्दा शेर्पाका विशन गुरूङले गोल गरेका थिए।
यो सँगै आर्मीले सडन डेथमा शेर्पालाई २-१ ले हराउँदै उपाधि उचालेको हो।
ट्राइबेकरमा आर्मीका दीपक गुरूङ र शेर्पाका प्याट्रिक प्रभाइभेटको प्रहार गोल भएको थिएन।
उपाधि विजेता आर्मी क्लबले नगद पाँच लाख ५५ हजार पाँच सय ५५ रूपैयाँ र ट्रफी हात पारेको छ।
उपविजेता हिमालयन शेर्पाले भने नगद दुई लाख ७७ हजार सात सय ७७ रूपैयामै चित्त बुझायो।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आर्मीका विश्वास श्रेष्ठ भए। प्रतियोगितामा चार गोल गरेका उनलाई सुजुकी कम्पनीको १ सय ५५ सिसिको जिक्सर मोटरसाइकल प्रदान गरिएको थियो।
प्रतियोगिताको समापन समारोहमा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले विजेता र उपविजेता टिमका खेलाडीलाई ट्रफी र मेडल प्रदान गरेका थिए।
स्वर्गिय विशाल जंग राणाको स्मृतिमा विशाल मेमोरियल फाउण्डेशनले पुस २८ देखि आयोजना गरेको प्रतियोगितामा नेपाल र भारतका गरि कुल आठ टिमको सहभागिता थियो।