एन्फा कास्कीको आयोजनामा हुने छैटौं संस्करणको मनकामना केबलकार पोखरा कपमा दुई विदेशीसहित १२ टिमले सहभागीता जनाउने भएका छन्।
प्रतियोगितामा क्यामरुनको टोली र जापानको युनिभर्सिटीको टिमसहित १२ टिम सहभागी हुने आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिए।
प्रतियोगितामा ए डिभिजन ९ र आयोजक पोखरा ११ गरी १२ टोलीले उपाधि प्रतिस्पर्धा गर्ने उनले बताए।
प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लब, थ्रीस्टार क्लब, संकटा क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा, च्यासल तथा ब्रिगेड ब्वाइजको सहभागिता रहने मनकामना केबलकार पोखरा कप २०७५ का संयोजक हरि खड्काले जानकारी दिए।
छैटौं संस्करणमा पुरस्कार राशीलाई समेत वृद्धि गरिएको छ।
पाँचौं संस्करणभन्दा झण्डै दुई लाख रुपैयाँ वृद्धि गरिएको छ। यो वर्षको विजेताले सात लाख ५५ हजार रुपैयाँ प्रदान गरिने निर्णय कास्की जिल्ला फुटबल संघले जनाएको छ।
उपविजेताको हकमा भने चार लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने छ।
उत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिने निर्णय समेत कास्की जिल्ला फुटबल संघले गरेको छ।
उत्कृष्ट पाँच विधा बेष्ट फरवार्ड, बेष्ट डिफेन्स, बेष्ट मिडफिल्डर, बेष्ट गोलकिपर र बेष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने छ।
आयोजक कास्की जिल्ला फुटबल संघले १२ दिने प्रतियोगिताको लागि १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ भने आम्दानी १ करोड २८ लाख ५० हजार हुने अनुमान गरेको छ।
संघका अनुसार फुटबल खेलमा योगदान गर्ने एक जनालाई सम्मानस्वरूप मोटरसाइकल प्रदान गर्ने निर्णय समेत गरेको छ।
स्थगित भएको दुई वर्षपछि मनकामना केबलकार पोखरा कप गर्ने तयारी अन्तिम चरणमा छ। मैदान वरिपरि टिनले बार्ने काम गरिएको छ। संघले मैदानलाई मर्मत सम्भारमाा समेत गरिरहेको छ ।