एन्फा कास्कीको आयोजनामा पोखरामा सुरू भएको छैटौं संस्करणको मनकामना केबुलकार पोखरा कपमा विभागीय टोली सशस्त्र प्रहरी बलले विजयी सुरूआत गरेको छ।
हिमालय शेर्पालाई २ – १ गोल अन्तरले हराउँदै एपिएफले अन्तिम आठमा स्थान बनाएको छ। पहिलो हाफको २५ औं मिनेटमा आशिष लामाले गोल गर्दै एपिएफलाई अग्रता दिए।
उनले डिबक्स बाहिरबाट हानेको बल क्रसबार हुँदै बल गोलपोष्टभित्र छिरेपछि अग्रता लिएको थियो। शेर्पाका गोलकिपरले बचाउको प्रयास विफल बन्यो। दोस्रो हाफमा पाएको फ्रिकिकलाई सदुपयोग गर्दै शेर्पाले कमब्याक गर्यो। खेलको ५४ औं मिनेटमा अमर डंगोलले गोल गरे। एपिएफका राजन गुरुङले हिमालयनका विश्वास श्रेष्ठलाई फल गरेपछि पाएको फिक्रिकमा रवि थापाले प्रहारलाई रिफलेक्ट भएको बललाई अमर डंगोलले गोल गर्दै शेर्पालाई बराबरीमा पुर्याए।
खेलको ७८ औं मिनेटमा एपिएफले डिबक्सभित्र ह्याण्ड भएपछि पेनाल्टीको अवसर पायो। सुदिप सिख्राकारले गोल गर्दै शेर्पाको चुनौती २–१ गोलले पन्छाउँदै एक गोलको अग्रता बनाए। शेर्पाले पाएका केही राम्रा अवसरलाई गोलमा परिणत गर्न सकेन। बुधबार दोस्रो दिनको खेल डफिन्स टिम फेमेली क्यामरुन र च्यासल युथ क्लबबीच खेल हुनेछ।
प्रतियोगिताको विजेताले ७ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्ने छ। त्यसैगरी उपविजेताले ४ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ। उत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिने छ। उत्कृष्ट पाँच विधा बेष्ट फरवार्ड, बेष्ट डिफेन्स, बेष्ट मिडफिल्डर, बेष्ट गोलकिपर र बेष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने छ।
प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिका मेयर मानबहादुर जिसीले गरेका थिए ।