तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको २१ औं संस्करणको तयारी सुरू भएको छ।
तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि प्रतियोगिता सुरू भए पनि ४२ वर्षको अन्तरालमा बल्ल २१ औं संस्करण हुने भएको हो।
प्रतियोगिताबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा आयोजक रुपन्देही फुटबल संघका अध्यक्ष दीर्घ बहादुर केसीले तिलोत्तमा गोल्डकप यस वर्षदेखि अखिल नेपाल फुटबल संघ (एन्फा) को क्यालेण्डर अनुसार सञ्चालन हुन गइरहेको र सोही अनुरूप तयारी सुरू गरिएको जानकारी दिए।
आगामी फागुन २ गतेदेखि ११ गतेसम्म रुपन्देही फुटबल संघले आयोजना गर्ने प्रतियोगितामा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका १० वटा टिमको सहभागिता हुँदैछ। प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लब काठमाडौं, थ्री स्टार क्लब काठमाडौं, नेपाल आर्मी क्लब काठमाडौं, नेपाल पुलिस क्लब काठमाडौं, जावलाखेल युथ क्लब ललितपुर, एपिएफ क्लब काठमाडौं, रुपन्देही ११ रुपन्देही, धरान फुटबल क्लब धरान, सिक्किम ११ भारत, हिमालयन शेर्पा फुटबल क्लब काठमाडौं र संकटा फुटबल क्लब काठमाडौंले भाग लिँदै छन्।
बुटवल उपमहनागरपालिकाको संरक्षकत्वमा रहेको यो प्रतियोगिता विगत १९ वर्षदेखि जिल्ला फुटबल संघले सञ्चालन गर्दै आएको छ। १ करोडभन्दा बढी खर्च अनुमान गरिएको प्रतियोगिताको लागि बुटवल उपमहानगरपालिकाले १० लाख रुपैयाँ उपलब्ध गराएको छ।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उपमहानगरपालिका खेल क्षेत्रको विकासका लागि संवेदनशील रहेको र सोही अनुसार सहयोग गर्दै आएको बताए।
प्रतियोगितालाई आकर्षक बनाउन हरेक वर्ष पुरस्कार राशी समेत वृद्धि गर्दै लगिएको संघका अध्यक्ष केसीले जानकारी दिए।
२० औं संस्करणको विजेताले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ नगद पुरस्कार पाएकोमा २१ औं संस्करणको विजेताले नगद ८ लाख ८० हजार सहित गोल्डकप प्राप्त गर्ने छ । त्यस्तै उपविजेताले ५ लाख ५० हजार पुरस्कार पाउने छ ।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिनेश पाण्डे र खेलकुद पत्रकार मञ्चका अध्यक्ष सुमन अधिकारीले तिलोत्तमा गोल्डकप बुटवलको गौरब भएकोले यसको सञ्चालनको लागि उपमहानगरपालिकालाई सहयोग रकम थप्दै जान सुझाव दिए। प्रतियोगिता सञ्चालन हुन दुई सातामात्र बाँकी रहँदा अहिले खेल मैदान सम्याउने तथा प्रचारप्रसार र आवश्यक अरु तयारीलाई अगाडि बढाइएको छ।
बुटवल ११ देविनगरस्थित एन्फा टेक्निकल खेल मैदानमा हुने गोल्डकपमा दर्शकहरूको सुविधाको लागि हरेक वर्ष अस्थायी प्याराफिट निर्माण गर्दा आयोजकलाई वर्षेनी आर्थिक भार थपिदै गएको छ।
खेलमैदानमा ५ हजार दर्शक क्षमताको मात्र स्थायी प्याराफिट हुँदा लाखौं रुपैयाँ खर्च गरी दुई तर्फ त्यति नै क्षमताका अस्थायी प्याराफिट निर्माण गरिँदै आएको छ।
सबभन्दा पुरानो मात्र नभई यस क्षेत्रको सर्वाधिक राशीको गोल्डकप भएको कारण पनि प्रतियोगितालाई यसक्षेत्रका खेलप्रेमीहरूले विशेष पर्वका रूपमा लिने गरेका छन्। तिलोत्तमा गोल्डकपको इतिहासलाई हेर्ने हो भने दुई/तीन वर्षको अन्तरालमा दुई/ तीन वर्ष प्रतियोगिता स्थगित हुँदै फेरि सञ्चालन भएको देखिन्छ ।
३३ देखि ३५ सालसम्म नियमित भएको प्रतियोगिता त्यसयता ३९ सालसम्म हुन सकेन । त्यसपछि ४३ सालदेखि ५१ सालसम्म सात वर्ष रोकिएको प्रतियोगिता ५६ सालमा फेरि रोकियो । ५७ र ५८ मा दुई वर्ष लगातार सञ्चालन भएपनि ६४ सालसम्म सञ्चालन हुन सकेन। त्यसपछि ६५ सालमा सञ्चालन भएपनि ६६ मा रोकिएर फेरि ६७ सालमा संचालन भएको थियो ।
६८ देखि ७० सालसम्म रोकिएको तिलोत्तमा गोल्डकप ७१ सालमा संचालन भए पनि पछिल्लो पटक ७२ सालमा संचालन हुन सकेन । त्यसयता लगातार तीन वर्ष भने प्रतियोगिता सञ्चालन हुँदै आएको छ । अरु खर्च व्यवस्थापन आयोजक रुपन्देही फुटबल संघ आफैंले जुटाउँदै आएको छ ।
हरेक वर्ष भारतका टिमहरूले समेत सहभागिता जनाउँदै आए पनि २० औं संस्करण सम्पन्न हुँदा २ उपाधि भारतले लान सफल भयो भने १८ उपाधि नेपालले नै कब्जा गर्यो।
२०३३ सालमा भएको पहिलो खेलमा सिद्धार्थ खेलकुद परिषद् रुपन्देही विजयी भएको थियो भने दोस्रोमा बम्बई फर्टिलाईजर मुम्बई, तेस्रो, नवौं, दशौं र तेह्रौमा महेन्द्र पुलिस क्लब, चौथो, पाँचौ र छैटौंमा कालिका स्पोर्टिङ क्लब, सातौं जनकपुर चुरोट कारखाना विजयी भएका थिए।
त्यस्तै, आठौमा आरएनएसी, एघारौंमा महिन्द्रा एण्ड महिन्द्रँ मुम्बई, बाह्रौं र सोह्रौमा त्रिभुवन आर्मी क्लब, चौधौं र अठारौंमा रुपन्देही ११, पन्ध्रौमा फ्रेन्ड्स क्लब, सत्रौमा जावलाखेल युथ क्लब र १९ औं संस्करणको उपाधि सिएमसी संकटा क्लवले जितेका थिए ।
गतवर्ष २० औं तिलोत्तमा गोल्डकपको उपाधि थ्रिस्टार क्लव काठमाडौंले जितेको थियो। प्रतियोगितामा विजेता र उपविजेता टिमसँगै उत्कृष्ट खेलाडीले मोटरसाइकल उपहार पाउने छन्।
त्यस्तै, विधागत रूपमा उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट कोचले पनि २५/२५ हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।