पोखरामा जारी मनकामना केबुलकार पोखरा कपमा थ्रीस्टारलाई हराउँदै सशस्त्र प्रहरीको एपिएफ क्लब सेमिफाइनमा प्रवेश गरेको छ।
खेल सुरू भएको ३५ सेकेण्डमै गोल गर्दै एपिएफले अग्रता लिएको थियो। एपिएफलाई राजीव लोप्चानको ‘कर्भ पास’मा डिबक्स भित्रबाट सन्तोष श्रेष्ठले गोल गर्दै अग्रता दिलाए। त्यही गोलले एपिएफले रुस्लान थ्रीस्टारको चुनौती पन्छाउँदै अन्तिम चारको ढोका खोल्यो।
घरेलु फुटबलमा उत्कृष्ट प्रदर्शनको छाप छोडेको रुस्लान थ्रीस्टारले ३५ सेकेण्डमै गोल खाएपछि दर्शक पनि आश्चर्यचकित हुन पुगे। सेन्टरबाट आफैंले सुरू गरेको बल राइट(दायाँ) एट्याकिङ डिफेन्सले लङपास दिने क्रममा सशस्त्रले आफ्नो डिबक्स लाइन अघि नै कलेक्ट गर्दै लोप्चानलाई पास उपलब्ध गराएका थिए। लोप्चानले डिफेन्सलाई कटाउँदै श्रेष्ठलाई पास मिलाइदिएका थिए।
खेलको २६ औं मिनेटमा अर्को गोलको अवसरलाई सशस्त्रले खेर फाल्यो। राजीव लोप्चानले हानेको लेफ्ट सट सेकेण्ड बार नजिकैबाट बाहिरिएपछि प्लेयरबक्सका खेलाडी तथा अफिसियल चुकचुकाएका थिए। खेलमा म्यान अफ दि म्याचको पुरस्कार सशस्त्रका डिफेन्स रमेश दंगाल घोषित भए।
पहिलो हाफ गोल अन्तरमा पछि परेको थ्रीस्टारले गोलको अवसर सृजना गर्न सकेन। अधिकांश बल सशस्त्रको डिफेन्स लाइनबाट क्लियर र गोलकिपरले बचाउ गर्दै सशस्त्रको अग्रता बनाइराखे। कास्की जिल्ला फुटबल संघको आयोजना भएको प्रतियोगितामा सोमबार नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र पाहुना टोली डाफिन्स क्लब परिवार क्यामरुन बीच हुनेछ।