मोफसलकै पुरानो तिलोत्तमा गोल्डकपमा पाहुना टोली झापा ११ ले विजयी सुरूआत गरेको छ।
विभागीय टिम एपिएफका खेलाडीहरूले आपसी तालमेल मिलाउन नसक्दा गोल्डकपको उद्घाटन खेलबाटै बाहिरिएको छ।
खेल अवधिभर मैदानमा निरिह बनेको एपिएफ पूर्वेली टोली झापा ११ सँग २ शून्य गोलले पराजित हुँदै बाहिरिएको हो।
बुटवल ११ देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा भएको उद्घाटन खेलमा एपिएफको कमजोर उपस्थितिको फाइदा उठाउँदै झापा ११ ले क्वाटर फाइनलको यात्रा पक्का गरेको हो।
झापाका टिम क्याप्टेन कर्ण लिम्बूले पहिलो हाफको आठ मिनेटमा डि बक्स एरियाबाट गरेको गोललाई जाली चुमाउँदै टिमको पक्षमा खाता खोलेका थिए। सुरूआती समयदेखि नै आक्रामक बन्दै टिमलाई अग्रता दिलाएको झापाको सामू एपिएफ पहिलो हाफभरि नै दबाबमा रह्यो।
दोस्रो हाफमा रक्षात्मक खेल खेलेको झापाले एपिएफका गोलकिपर अमृत चौधरीको कमजोरीको फाइदा हुँदै दोस्रो हाफको ५ मिनेटमा पुनः अर्को गोल गर्दै टिमलाई दुई शून्यको अग्रता दिलायो। एपिएफका किपर चौधरी बल बचाउने क्रममा अगाडि बढ्दै गर्दा झापाका बुद्धवल तामाङले गोल गरेका थिए।
पहिलो हाफमा पाएका केही अवसरहरूलाई सदुपयोग गर्न नसकेको एपिएफ दोस्रो हाफमा केही सुधारिए पनि दोस्रो हाफ पनि गोल रहित बन्यो। अन्ततः पाहुना टोलीका सामू विभागीय टिम एपिएफ उद्घाटन खेलबाटै बाहिरियो। झापाले अब क्वाटर फाइनल खेलमा ८ गते डाफिन्स एफसी क्यामरुनको सामना गर्नेछ।
शनिबारको खेलमा झापाका टिम क्याप्टेन कर्ण लिम्बू म्यान अफ दि म्याच बन्दै १० हजार पुरस्कार प्राप्त गरेका छन्।
त्यस्तै, झापाकै आशिष चापागाईंले पहेँलो कार्ड पाएका छन्। भोलिको खेल आयोजक रुपन्देही ११ र सुनसरी ११ दिउँसो साढे २ बजे भिड्ने छन्।
यसअघि गोल्डकपको उद्घाटन गर्दै संरक्षक संस्था बुटवल उपमहनागरपालिकाका प्रमुख शिवराज सुवेदीले उपमहानगरपालिका समग्र खेलक्षेत्रको विकास र प्रवर्द्धनको लागि योजनावद्ध रूपमा लागेको बताए।
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले यसअघि एन्फाको क्यालेण्डरमा नपरेको तिलोत्तमा गोल्डकप यस वर्षदेखि एन्फाको क्यालेण्डर अनुसार हरेक वर्ष फागुन महिनामा सञ्चालन हुने भएको बताए।
२०३३ सालदेखि तत्कालीन बुटवल नगरपालिकाको संरक्षकत्वमा सुरू भएको तिलोत्तमा गोल्डकप विगत १९ वर्षदेखि जिल्ला फुटबल संघले सञ्चालन गर्दै आएको छ।
गोल्डकपलाई आकर्षक बनाउन आयोजकले हरेक वर्ष पुरस्कार राशी समेत वृद्धि गर्दै लगेको छ ।
२० औं संस्करणको विजेताले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ नगद पुरस्कार पाएकोमा २१ औं संस्करणको विजेताले नगद ८ लाख ८० हजारसहित गोल्डकप प्राप्त गर्नेछ। उपविजेताले ५ लाख ५० हजार पुरस्कार पाउने छ।
प्रतियोगितामा विजेता र उपविजेता टिमसँगै उत्कृष्ट खेलाडीले मोटरसाइकल उपहार पाउने छन्। त्यस्तै, विद्यागत रूपमा उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट कोचले पनि २५/२५ हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।
गतवर्ष २० औं तिलोत्तमा गोल्डकपको उपाधि थ्रिस्टार क्लव काठमाडौंले जितेको थियो ।