सुनसरीलाई सडन डेथमा हराउँदै आयोजक रूपन्देही ११ बुटवलमा जारी तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। घरेलु टोलीलाई जिताउन सवी गुरूङ र निशान न्यौपानेले गोल गरे।
रूपन्देहीको एन्फा एकेडेमीमा सम्पन्न आइतबार खेलमा निर्धारित समयसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। त्यसपछि खेलको निर्णयका लागि ट्राईब्रेकरमा धकेलियो। ट्राईब्रेकरमा पनि दुवै टिमले समान ३-३ गोल गरे।
पेनाल्टी सुटआउटमा रुपन्देही ११ का अनुप गुरूङ र गोलकिपर किशोर गिरीको प्रहार सुनसरीका गोलकिपर पूर्ण चेम्जोङले बचाएका थिए। यस्तै सुनसरीका मनिन्द्र याख्खा र दिपेन तामाङको प्रहार रूपन्देहीका गोलकिपर किशोर गिरीले बचाएका थिए।
यसबाट पनि खेलको नतिजा नआए पछि सडन डेथबाट खेलको निर्णय लिइएको थियो। सडन डेथमा सुनसरीका रमेश राजवंशीले हानेको बल गोलपोष्टमा छिरे पनि उमेश राईको प्रहार पोष्टको बारमा लागेर फर्किएको थियो।
यसअघि तीन जना विदेशी खेलाडीसहित घरेलु मैदानमा उत्रिएको रूपन्देही ११ ले खेल अवधीभर पाएका प्रयाप्त अवसरलाई सदुपयोग गर्न सकेन। रूपन्देहीका टिम म्यानेजर मुकेश कुँवरले खेल अवधिभर गोल गर्ने प्रयाप्त अवसर पाए पनि फिनिसिङको कमजोरीले गोल गर्ने नसकेको प्रतिक्रिया दिए।
‘प्रतियोगिताको अन्य तयारीमा लाग्दा खेलप्रति समय दिन नसकिएकोले केही कमजोरीहरू छन्। तर पनि सेमिफाईनलमा यसलाई सुधारेर जानेछौ,’ उनले भने।
सुनसरीका प्रशिक्षक श्याम मानन्धरले खेलाडीहरुका बिचमा तालमेल रहे पनि पाएका केही राम्रा अवसर खेर फाल्दा पराजित हुनुपरेको प्रतिक्रिया दिए।
‘नतिजा टिमको पक्षमा नआए पनि आफ्नै क्लबबाट उत्पादित खेलाडीले गरेको प्रदर्शनलाई नराम्रो भन्न मिल्दैन,’ उनले भने।
आयोजक रुपन्देही ११ का विदेशी खेलाडी रामजी म्यान अफ दी म्याच भएका छन्। उनले १० हजार नगद पुरस्कार र गिफ्ट ह्याम्पर पाए।
प्रतियोगिता अन्तर्गत सोमबारको खेल सिएमसी संकटा क्लब काठमाडौं र च्यासल युवा क्लब काठमाडौंका बिचमा हुनेछ।