पाहुना टोली युनाईटेड दार्जिलिङलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब वुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ।
बुटवल ११ देविनगर स्थित एन्फा टेक्निकल सेन्टरमा मंगलबार दार्जिलिङलाई २-०ले हराउँदै नेपाल पुलिस अन्तिम चारमा प्रवेश गरेको हो। पुलिसको जितमा रवि पासवान र मिनल राईले एक-एक गोल गरे।
अत्यान्तै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको इन्जुरी समयमा पुलिसका रवि पासवानले गोल गर्दै टिमलाई सुरूवाती अग्रता दिलाएका थिए।
रविले काउन्टर अट्याकलाई दार्जिलिङका गोलरक्षक संजिव रावतले रोक्ने प्रयास गरे पनि बलले जाली चुमेको थियो।
एक गोलले अगाडि रहेको पुलिसले दोस्रो हाफको सुरूदेखिनै आक्रमक खेल खेलेको थियो। खेलको ६८ औं मिनेटमा मिलन राईले पुलिसको अग्रता दोब्बर पारे।
मिलनले रविकै पासमा गोल गरेका थिए।
यसपछि पनि पटकपटक गोल गर्ने राम्रा मौका पाए पनि पुलिसले ती अवसरलाई गोलमा परिणत गर्न सकेन।
यसअघि खेलको २३औं मिनेटमा रविकै प्रहार बारमा लागेर फर्किएको थियो।
पुलिसका कप्तान भरत शाहले २७ मिनेटमा गरेको कडा प्रहार दार्जिलिङका गोलरक्षक रावतले बचाएका थिए। लगत्तै २९ औं मिनेटमा गरेको हेडिङ पनि गोलपोष्ट माथिबाट बाहिरिएको थियो ।
त्यस्तै पुलिसका निर के राईले ४० औं मिनेटमा डि एरियाबाट हानेको कडा प्रहार गोलपोष्ट नजिकैबाट बाहिरिएको थियो। त्यसपछि रविकै पासमा हेम तामाङको प्रहार पनि बाहिरीए पछि पुलिसले अग्रता बढाउन सकेन।
पाहुना टोली दार्जिलिङले पनि पाएका केही राम्रा अवसर खेर फाल्दा पहिलो खेलबाटै घर फर्कन बाध्य भयो।
नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त राज थापाले नयाँ र युवा टिमले मुभमेन्टमा खेल्दा नजिता आफ्नो पक्षमा आएको प्रतिक्रिया दिए।
‘युनाईटेड दार्जिलिङ नेपालका लागि नयाँ भएको र उसको खेल्ने रणनीति बुझ्न नसक्दा पहिलो हाफमा पाएका केही राम्रा अवसरहरु गुमाउनु परेको थियो,’ उनले भने, ‘पहिलो हाफमा मुभमेन्ट मिलाउन सकिएन, दोस्रो हाफमा बल नियन्त्रणमा लिने र मुभमेन्ट मिलाएर मात्र पास गर्ने रणनीति लिएका थियौं त्यसैले धेरै मुभमेन्ट पनि निस्किए।’
त्यस्तै युनाईटेड दार्जिलिङका म्यानेजर जेसन ल्याप्साले भारतमा र भुटानमा खेल भईरहेको र आधा टिम उतै रहनुपर्दा सोचे अनुसारको प्रदर्शन हुन नसकेको प्रतिक्रिया दिए। ‘नेपालको खेल मैदान नै आफूहरूको लागि नयाँ अनुभव हो। खेल हारे पनि यति ठूलो गेम खेल्न पाउँदा खुसी लागेको छ,’ उनले भने।
कप्तान गणेश लिम्बुले पहिलो पटक नेपाल आउँदा पराजित भएर जानु परे पनि अवसर पाए फेरि पनि आउने र जितेर जाने बाचा गरे।
मंगलबारको खेलमा नेपाल पुलिसका रवि पासवान म्यान अफ दि म्याच भए। उनले नगद १० हजार तथा गिफ्ट ह्याम्पर प्राप्त गरेका थिए।
बुधवारको खेल झापा ११ र पाहुना टोली डाफिन्स एफसी क्यामरुनका बिचमा हुने आयोजक रुपन्देही फुटबल संघले जनाएको छ।