झापा ११ लाई फराकिलो गोल अन्तरमा हराउँदै दाउफिन्स फुटबल क्लब क्यामरून तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
बुटवलस्थित बुटवलको एन्फा टेक्निकल सेन्टरमा बुधबार मोफसलकै चर्चित क्लब झापा ११ लाई ५–० को फराकिलो गोल अन्तरमा हराउँदै पाहुना टोली दाउफिन्स अन्तिम चारमा प्रवेश गरेको हो।
पहिलो हाफमा १-० को अग्रता लिएको दाउफिन्सले दोस्रो हाफमा थप चार गोल गरेको थियो।
खेलको २६ औं मिनेटमा यानिकले हेडमार्फत गोल गर्दै दाउफिन्सलाई सुरूवाती अग्रता दिलाएका थिए।
पछिल्लो दुई प्रतियोगितामा उपाधि जितेको दाउफिन्स उपाधिमा ह्याट्रिक गर्ने दाउमा वुटवल पुगेको हो।
अब दाउफिन्स एफसीले फाईनल प्रवेशका लागि घरेलु टोली रूपन्देही ११ सँग शुक्रबार खेल्नेछ।
बुधबार खेल शुरूदेखि नै आक्रमक खेल प्रस्तुत गरेको दाउफिन्सले दोस्रो हाफमा एक पक्षीय रूपमा खेलमा हाबी भयो।
पहिलो हाफमा एक शून्यले अघि रहेको पाहुना टोलीले दोस्रो हाफ पुरै आफ्नो नियन्त्रणमा लियो।
खेलको ५० औं मिनेटमा पेट्ंगाले गोल गर्दै टिमको अग्रता दोब्बर पारे। डि बक्स एरियाबाट हानेको कडा प्रहारलाई झापाका गोलरक्षक दिप कार्कीले पत्तै पाएनन्।
त्यसको ९ मिनेटपछि दाउफिन्स १० खेलाडीमा समेटिएको थियो। युरेलले झापा ११ का पुजन उप्रेतीलाई लडाएपछि दोहोरो पहेलोकार्डसँगै रातो कार्ड पाएर मैदान छाडेका थिए।
त्यसपछि १० खेलाडीमा समेटिएको पाहुना टोलीमाथि झापाले कुनै कडा प्रहार गर्न सकेन। यद्यपी दाउफिन्सले थप आक्रमण बुन्दै गयो।
दाफिन्सको लगातार आक्रामणलाई डिफेन्स गर्न नसक्दा दुई मिनेटको अन्तरमा लगातार दुई गोल खान पुगे।
खेलको ७३ मिनेटमा नाईसले गोल गर्दै अग्रता ३-० मा पुर्याउँदा ७५ औं मिनेटमा डिडेर टिनाले गोल गर्दै टिमलाई ४–० को स्थितिमा पुर्याए।
मध्यभागमा रहेको बललाई कर्नरबाट निकाल्दै टिनाले आकर्षक गोल गरेका थिए।
खेल सकिन ८ मिनेट बाँकी रहँदा दाफिन्सका वियीकले दर्शनीय गोल गर्दै सहज जित दिलाए।
वियीकले मैदानको मध्य भागबाट हानेको आकर्षक प्रहारले सिधै जाली चुमेको थियो।
दर्शकहरुको समर्थन पाए पनि बलियो टोली दाउफिन्सको अगाडि झापा निरिह हुँदै घर फर्किएको छ।
खेल अवधीभर बललाई आफ्नो नियन्त्रणमा राखेको दाउफिन्सले यसअघि पनि गोल गर्ने केही राम्रा अवसरहरुलाई गुमायो।
दाउफिन्सले यसअघि मनकामना गोल्डकप, पोखरा र बुढासुब्बा गोल्डकप, धरानमा उपाधि जितिसकेको छ।
दाफिन्सका कप्तान जो अंगौलाले नेपाली खेलाडीसँग खेल्न सहज नभए पनि जित हासिल गर्दा खुसी लागेको प्रतिक्रिया दिए।
उता झापाका प्रशिक्षक प्रवेश कटुवालले राम्रो टिमका बिच आफूहरूले हार व्यहोर्नुपरेको बताए। ‘दाउफिन्स राम्रो टिम रहेछ, त्यसैमाथि हाम्रो टिमका १० जना खेलाडी भुटानमा लिग खेल्न गएकाले नतिजा अनुकुल हुन सकेन,’ उनले भने।
दाउफिन्सका वियीक म्यान अफ दि म्याच भए। उनले नगद १० हजार तथा गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्।
प्रतियोगिता अन्तर्गत विहिबारको खेल च्यासल काठमाडौं र मनाङ मर्स्याङ्दी बिच हुने आयोजक रूपन्देही फुटबल संघले सेतोपाटीलाई जानकारी दिएको छ ।
प्रतियोगितामा विभागीय २ टिमसहित १० टिमको सहभागिता छ।
२१ औं संस्करणमा तिलोत्तमा गोल्डकपको विजेताले ८ लाख ८० हजार रूपैया नगदसहित कप पाउने छ भने उपविजेताले ५ लाख ५० हजार रूपैया पाउने छ ।
त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाईकल उपहार पाउनेछन् भने विद्यागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षक तथा रेफ्रीले २५ र २५ हजार नगदबाट सम्मानित हुनेछन्।