कुनै टिमबाट गोल भयो कि नजिकै रहेका पत्रकारले उनलाई सोधिहाल्छन्– बाबु गोल कसले गरेको हो ? कसको पासमा गोल हानेको हो नि ? एल्लो कार्ड पाउने खेलाडी को हो ? रेडकार्ड कसले पायो नि ?
उमेरले भर्खर १३ वर्ष पुग्दै गरेका उनले पत्रकारले सोधेका सबै कुराहरूको झर्को नमानी जवाफ दिन्छन्। फुटबल खेलमा प्रयोग गरिने टेक्निकल शब्दबारे पनि आफूले जानेजति र बुझेजति बताउँछन्।
फुटबल प्रतियोगिता अवधिभर नै पत्रकारहरूकै बीचमा देखिने उनी खेलको रिपोर्टिङ गर्न सिक्दै गरेका पत्रकारहरूको भरोसा योग्य गुरू नै बनेका छन्।
प्रतियोगिता चलिरहेको बेला मैदानभन्दा बाहिर गएको बल छोप्ने र खेलाडीलाई दिने जिम्मेवारीसहित उनी मैदानको बाहिर छेकिएर बस्छन्। मैदानबाटै तस्बिर लिन सहज हुने भएकोले पनि पत्रकारहरू पनि उनीसँगै गएर बस्छन्।
उनी अर्थात् सुमित मल्ल।
सानै उमेरदेखि नै फुटबल खेलप्रति रुचि भएका सुमित फुटबलकै लागि चितवनदेखि बुटवलसम्म आइपुगेका हुन्। अहिले उनी अध्ययनसँगै बुटवल ११ देवीनगरस्थित एन्फा एकेडेमीमा रहेर फुटबल खेल्न सिक्दै छन्।
तीन वर्ष पहिले १० वर्षको उमेरमा फुटबल खेलाडी बन्ने सपना बोकेर बुटवल आएका सुमितले बुवाआमालाई मनाउन धेरै मेहेनत गर्नुपर्यो। आफ्नो एकमात्र सन्तान सुमितलाई १० वर्षकै बाल्यकालमा घरबाट बाहिर पठाउन बुवा दीपेन्द्र र आमा शर्मिलाले सहजै स्वीकार गर्न सकेनन्।
तर सन्तानको जिद्दी र चाहनाको अगाडि बुवाआमाको केही चलेन। अन्तत: भविष्यको सफल फुटबल खेलाडी बन्ने सुमितको सपनालाई साथ दिँदै बुटवल पठाउन तयार भए। क्रिष्टियानो रोनाल्डो र अन्जन विष्टलाई आफ्नो आइडल मान्ने सुमित अहिले बुटवलकै एउटा निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत छन्।
दिउँसोको समय अध्ययनको लागि विद्यालयमा रहने सुमित बिहान साँझको चार घण्टा फुटबल खेलको अभ्यास गर्छन्। बिहान ६ बजेदेखि आठ बजेसम्म मैदानमा अभ्यास गर्ने सुमित साँझ ४ बजेदेखि ६ बजेसम्म पनि अभ्यासमै व्यस्त हुन्छन्।
कपिलवस्तुका विकल्प बञ्जाडे पनि दुई वर्षदेखि एन्फामा भर्ना भएका छन्। कक्षा ९ मा अध्ययनरत विकल्प बुटवलकै उत्पादन विमल घर्तीमगरलाई आफ्नो आइडल मान्छन्।
सुमित र विकल्प मात्र होइन बुटवल ११ देवीनगरमा एन्फा एकेडेमीले सञ्चालन गरेको टेक्निकल सेन्टरमा उनीहरू जस्तै ३२ जना प्रशिक्षार्थी फुटबलमा आफ्नो भविष्य खोज्दै छन्।
कक्षा ६ देखि ९ पढ्दै गरेका उनीहरूलाई पुकार गहतराजले साँझ बिहान फुटबलको प्रशिक्षण दिँदै आएका छन्।
पछिल्लो समय राम्रा युवा फुटबल खेलाडी उत्पादन गरेको एन्फाको बुटवल एकेडेमीप्रति बालकहरूको आकर्षण बढेको छ। एकेडेमीका डाइरेक्टर बुद्धि गुरुङ बुटवलबाट उत्पादित खेलाडीहरू राष्ट्रिय टिममा आवद्ध भई खेलप्रेमीहरूको मन जित्ने गरेको बताउँछन्।
राष्ट्रिय टिमका स्ट्राइकर विमल घर्तीमगर, गौरव बुढाथोकी, आशिष गुरुङ, अनुप गुरुङ लगायतका खेलाडी बुटवलकै एकेडेमीबाट उत्पादन भएका हुन्। एन्फाले हेर्न छोडेपछि रुपन्देही फुटबल संघ आफैंले स्रोत जुटाएर सञ्चालन गर्दै आएको एकेडेमीलाई आगामी वर्षदेखि भने एन्फा केन्द्रले नै सञ्चालन गर्ने तयारी गरिएको गुरुङले जानकारी दिए।
आगामी वैशाखदेखि फुटबल खेलप्रति रुचि भएका १४ वर्षमाथिका विद्यार्थीलाई एन्फाले केन्द्रबाट छनोट गरेर टेक्निकल सेन्टरमा पठाउने छ। टेक्निकल सेन्टरमा ४० जना विद्यार्थीलाई अध्ययनसँगै फुटबल खेलको तालिम प्रदान गर्न सक्ने क्षमता रहेको छ।