तिलोत्तमा गोल्डकपको २१ औं संस्करणको उपाधिका लागि सोम्बार विभागीय टिम नेपाल पुलिस क्लवले पाहुना टोली दाउफिन्स एफसी क्यामरूनको सामना गर्दैछ।
गत फागुन ४ गतेदेखि बुटवल ११ देविनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा जारी गोल्डकपको फाइनल खेल आज दिउँसो साढे २ बजेबाट सुरू हुँदैछ।
घरेलु टोली रूपन्देही ११ लाई २–० ले स्तब्ध बनाउँदै दाउफिन्सले उपाधिको यात्रा तय गर्दा नेपाल पुलिसले च्यासल युथ क्लब काठमाडौंलाई ३–१ ले पन्छाएको थियो।
यसै सिजन नेपालको दुई ठूला घरेलु उपाधि जितिसकेको क्यामरूनी क्लबलाई तिलोत्तमा गोल्डकपको उपाधि जित्दै उपाधिमा ह्याट्रिक गर्न विभागीय टिम नेपाल पुलिस तगारो बन्नेछ।
यसअघि चार पटक तिलोत्तमा गोल्डकप उचालेको नेपाल पुलिस पाँचौ पटक गोल्डकप उचाल्ने दाउमा हुनेछ।
नेपाल पुलिस क्वलले यो सिजनमा त्यति धेरै ठूला उपाधि चुम्न सकेको छैन।
महेन्द्र पुलिस क्लबको नामबाट खेल्दै गर्दा नेपाल पुलिसले २०३५, २०५१, २०५२ र २०५५ सालमा सम्पन्न क्रमशः तेस्रो, नवौं, दशौं र तेह्रौ तिलोत्तमा गोल्डकपको उपाधि जितिसकेको छ।
दाउफिन्सले पनि यसै सिजनमा सम्पन्न मनकामना गोल्डकप, पोखरा र बुढासुब्बा गोल्डकप, धरानको उपाधि जितिसकेको छ।
दाउफिन्सका लागि स्ट्राईकर युरेल रातो कार्ड पाएका कारण फाईनल खेलमा उनको अभाव भने खट्किने छ।
२०३३ सालबाट प्रतियोगिता शुरु भए पनि ४२ वर्षको अन्तरालमा २१ औं संस्करण चलिरहेको हो।
तिलोत्तमा गोल्डकपको उपाधि विजेताले गोल्डकपसँगै ८ लाख ८० हजार नगद पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै उपविजेताले नगद ५ लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छ।
यसअघि गोल्डकपको उपाधि विजेताले गोल्डकपसँगै नगद ७ लाख ७७ हजार ७ सय ७७ रुपैया पुरस्कार प्राप्त गरेको थियो।
त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाईकल उपहार पाउने छन् भने विद्यागत उत्कृष्ट खेलाडी, प्रशिक्षक तथा रेफ्रीले २५/२५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।
यस्तो छ तिलोत्तमा गोलडकपको इतिहास
संस्करणहरू | विजेता टिमहरू |
२०३३ | सिद्धार्थ खेलकुद परिषद् |
२०३४ | बम्बई फर्टिलाइजर |
२०३५ | महेन्द्र पुलिस क्लब |
२०३९ | कालिका स्पोर्टिङ क्लब |
२०४० | कालिका स्पोर्टिङ क्लब |
२०४१ | कालिका स्पोर्टिङ क्लब |
२०४२ | जनकपुर चुरोट कारखाना |
२०४३ | कालिका स्पोर्टिङ क्लब |
२०४४ | शाही नेपाल वायु सेवा निगम |
२०५० | महेन्द्र पुलिस क्लब |
२०५२ | महेन्द्र पुलिस क्लब |
२०५३ | महिन्द्रा एन्ड महिन्द्रा |
२०५४ | त्रिभुवन आर्मी क्लब |
२०५५ | महेन्द्र पुलिस क्लब |
२०५६ | रूपन्देही ११ |
२०५८ | फ्रेन्डस् क्लब |
२०७२ | रूपन्देही ११ |
२०७३ | संकटा क्लब |
२०७४ | थ्री स्टार क्लब |