अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी महिला फुटबल दिवस शुक्रबार राजधानीमा मनाएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा नेपाली महिला फुटबलमा उल्लेखनीय योगदान दिएका नेपाली महिला राष्ट्रिय टोलीकी पूर्वकप्तान जमुना गुरुङ र फिफा असिस्टेन्ट रेफ्री विना श्रेष्ठलाई सम्मानसमेत गरिएको थियो।
प्रदेश नम्बर ३ कि प्रमुख अनुराधा कोइराला र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले गुरूङ र श्रेष्ठलाई सम्मान गरेका हुन्।
सन् २००७ देखि राष्ट्रिय स्तरमा रेफ्रीको भूमिका निभाउँदै नेपाली महिला रेफ्री श्रेष्ठ सन् २०१० देखि फिफा असिस्टेन्ट रेफ्रीका रूपमा क्रियाशील छिन्।
यस्तै नेपाली महिला राष्ट्रिय फुटबल टिमकी पूर्वकप्तान जमुना गुरूङले सन् १९९९ मा राष्ट्रिय टोलीबाट डेब्यू गरेकी हुन्।
झन्डै डेढ दशक राष्ट्रिय टोलीबाट खेलिसकेकी जमुनाले राष्ट्रिय टोलीबाट २४ खेल खेल्दै ३५ गोल गरेकी थिइन्।
चोटका कारण खेलबाट बाहिरिएकी जमुना हाल यू-१९ राष्ट्रिय महिला टोलीको व्यवस्थापन सम्हालिरहेकी छिन्।
पछिल्लो समयमा नेपालमा बढ्दै गएको महिला खेलाडीको क्रेजसँगै संख्यामा पनि वृद्धि भएको देख्दा आफूलाई खुसी लागेको प्रदेश तीनकी प्रमुख अनुराधा कोइरालाले बताइन्। उनले महिलाको स्तरोन्नतीका लागि खेलाडीको खानपान प्रक्रिया (डाइट) सँगै अनुसाशन र खेलाडीको आर्थिक ब्यवस्थापन राम्रो हुनुपर्ने धारणा राखिन्।
आउँदो वर्षमा एन्फाले उत्कृष्ट पुरूष खेलाडीसँगै महिला खेलाडीको समेत घोषणा गर्ने एन्फा अध्यक्ष शेर्पाले बताए।
एन्फाले हरेक वर्ष अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर एएफसी महिला फुटबल दिवस मनाउने गरेको छ।
कार्यक्रममा विभिन्न झाँकी तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।