टोकियो ओलम्पिकको दोस्रो चरणको छनोट खेलका लागि राष्ट्रिय नेपाली महिला फुटबल टोली आइतबार म्यानमार प्रस्थान गर्दैछ।
एन्फामा आयोजित बिदाइ कार्यक्रममा बोल्दै बधाई तथा शुभकामना दिँदै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले टोलीलाई बिदाइ गरेका हुन्।
साफको अन्तिम खेलमा भारतसँग हारे पनि टोलीमाथि अझ विश्वास रहेको र नेपाली छोरीहरूले अझ कडा मेहेनतका साथ खेल्न उनले सुझाए।
उनले महिला फुटबलरहरूको उचित तलबमा वृद्धि र बीमा योजनामा अझ राम्रो गर्ने बताए।
दोस्रो चरणको छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ।
नेपाल सम्मिलित समूहमा आयोजक म्यानमारसहित भारत र इन्डोनेसिया छन्। नेपालले पहिलो खेल म्यानमारसँग खेल्ने छ भने दोस्रो खेल भारतसँग हुने भएको छ। नेपालले अन्तिम खेल भने इन्डोनेसियासँग खेल्नेछ।
पहिलो चरणको खेलमा नेपालले भारत र आयोजक म्यानमारसँग समान १–१ गोलको बराबरी खेल्दै दोस्रो चरणमा प्रवेश गरेको थियो।
नेपालले पहिलो पटक ओलम्पिक क्वालिफायरमा भाग लिएको हो।