पूर्वराष्ट्रिय भलिबल खेलाडी छविलाल विश्वकर्मा मंगलबार बिहान फुटबल खेल्न मैदानमा उत्रिए।
सेतो टिसर्ट र खरानी रङको हाफ पाइन्ट लगाएका विश्वकर्मा आफ्नो टिमबाट क्याप्टेनको रूपमा मैदान उत्रिदा अर्को टिमबाट प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानामगर टिम क्याप्टेन थिए। राना पनि पूर्वभलिबल खेलाडी नै हुन्।
सानाठूला गरी नियमित जस्तै क्रिकेट तथा फुटबल प्रतियोगिता भइरहने रुपन्देहीको भैरहवामा मंगलबारको फुटबल प्रतियोगिता विगतका भन्दा फरक थियो। पक्लिहवास्थित कृषि तथा पशु विज्ञान अनुसन्धान केन्द्र कृषि क्याम्पसको मैदानमा फुटबल खेल हेर्ने दर्शक पनि अरु समयका भन्दा फरक थिए।
झण्डै पाँच सय दर्शकबीचमा एकातर्फ पहेंलो जर्सी र अर्कोतर्फ कालो जर्सीमा मैदानमा भिडिरहेका खेलाडी सबैजसो कपाल फुलेका पाको उमेरका थिए। मोटो शरीर र पुट्ट निस्किएको भुडीले खेलाडीहरूलाई बल पछ्याउँदै दौडन अप्ठ्यारो परेको प्रष्ट देखिन्थ्यो।
गणतन्त्र दिवसको अवसरमा जिल्ला समन्वय समिति रुपन्देही र सिद्धार्थनगर नगरपालिकाले संयुक्त रूपमा कर्मचारी र जनप्रतिनिधिहरूबीचमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरेको हो।
सोही प्रतियोगितामा जनप्रतिनिधिको तर्फबाट रुपन्देही क्षेत्र नं.१ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद विश्वकर्माले टिमको नेतृत्व गरेका थिए भने कर्मचारीको तर्फबाट प्रमुख जिल्ला अधिकारी रानाले नेतृत्व गरेका थिए।
दैनिक कोट पाइन्ट र दौरा सुरूवालमा सेवाग्राहीका काममा व्यस्त रहने जनप्रतिनिधि र कर्मचारी टिसर्ट र हाप पाइन्टमा मैदानमा बलको पछाडि दौडिएको दृश्य साँच्चै नै रोचक देखिन्थ्यो।
शारीरिक स्फूर्तिको लागि बिहानको समयमा व्याटमिन्टन तथा टेबुल टेनिस खेल्ने गरे पनि मैदानमा लडिरहेको दृश्यले कतिपय भने फुटबल मैदानमा पहिलो पटक प्रवेश गरेका थिए भनेर सहजै अनुमान लगाउन सकिन्थ्यो।
जनप्रतिनिधिको टिम म्यानेजर रहेका सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि अधिकारी र जिल्ला समन्वय समितिका संयोजक एकराज विश्वकर्मा एक घण्टाको अवधि खेल खेलिरहँदा टिम क्याप्टेन विश्वकर्मा भने १० मिनेटमात्रै मैदानमा दौडिए।
उता कर्मचारीको टिमका क्याप्टेन प्रमुख जिल्ला अधिकारी रानामगर पनि लामो समय मैदानमा टिक्न सकेनन्। मैदान छिरेको १० मिनेटमै रानामगर पनि मैदानबाट बाहिरिएका थिए।
प्रतियोगितामा जनप्रतिनिधिको टिमबाट, प्रदेशसभा सदस्य सन्तोष पाण्डेसहित नगरपालिकाका वडा अध्यक्ष तथा सदस्यहरू सहभागी रहेका थिए।
प्रमुख जिल्ला अधिकारी रानामगरको नेतृत्वमा कर्मचारीहरूको टिमबाट सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, प्रमुख कोष नियन्त्रक चन्द्र प्रसाद भुसाल, नेपाली सेनाका सेनानी दिलबहादुर खड्का, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक बसन्त कुमार बोगटी, प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी, प्रहरी निरीक्षक कमल बेल्बासे, सशस्त्र प्रहरी निरीक्षक सन्दीप कुमार अर्याललगायत जिल्ला खेलकुद कार्यालयका प्रमुख संगम सिंह थापा समेत मैदानमा उत्रिएका थिए।
जिल्ला खेलकुद कार्यालयका प्रशिक्षक तथा राष्ट्रिय फिफा रेफ्री किसन थापा रेफ्रीको भूमिकामा थिए। दुई हापमा एक घण्टा खेलाइएको प्रतियोगितामा जनप्रतिनिधिको टिमलाई ३-१ गोलले पराजित गर्दै कर्मचारीको टिम विजयी भयो।
प्रतियोगितामा कर्मचारीको तर्फबाट ईलाका प्रहरी कार्यालय बेलहियामा कार्यरत प्रहरी निरीक्षक कमल बेल्बासेले दुई गोल गरे भने सशस्त्र प्रहरी निरीक्षक सन्दीपकुमार अर्यालले एक गोल गरे।
जनप्रतिनिधिको टिमबाट सतिश प्रसाद मरासिनीले एकमात्र सान्त्वना गोल गरेका थिए।
विजयी टिमलाई पुरस्कारस्वरूप बुधबार खसी प्रदान गरिने जिल्ला समन्वय समितिका संयोजक विश्वकर्माले जानकारी दिए ।