एएफसी कपको चौंथो चरण सकिँदा नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब जितविहीन छ।
समूह ‘ई’ मा रहेको मनाङ सुरूआती २ खेलमा पराजित भएको थियो। पछिल्लो २ खेलमा बराबरी खेलेको मनाङ २ अंक जोडेर अंक तालिकाको पुछारमा छ।
समूहको शीर्ष टिममात्र अन्तर क्षेत्रीय सेमिफाइनलको प्लेअफमा पुग्ने भएको हुँदा मनाङलाई बाँकी २ चरणमा जित निकाल्नु पर्ने बाध्यता छ। दबाबमा रहेको मनाङले पाँचौं चरणको खेल बुधबार ढाका अबहानीसँग उसैको घरेलु मैदानमा खेल्दैछ।
ढाकाविरूद्ध जितको विकल्प नभएको मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङ बताउँछन्।
‘चार खेलमा जित निकाल्न सकेका छैनौं। अब हामीसँग जितको विकल्प छैन,’ सोमबार ढाका प्रस्थान गर्नुअघि लोप्साङले सेतोपाटीसँग भने, ‘अघिल्लो चरण पुग्ने सम्भावना जीवित राख्न पनि हामी जितका लागि खेल्नेछौं।’
समूहमा भारतको चेन्नइयीन ७ अंक जोडेर शीर्ष स्थानमा छ। दोस्रो स्थानको ढाकाको पनि ७ अंक नै छ। दुवैले समान २-२ खेलमा जित र १ खेलमा बराबरी खेलेका छन्। तेस्रो स्थानको पन्जावको ४ अंक छ। पञ्जावले चार खेलमै बराबरी खेलेको थियो। समूहमा तीन टिम अपराजित छन्। मनाङ र पञ्जाव अहिलेसम्म जितविहीन छन्।
समूहमा शीर्ष हुनका लागि मनाङका लागि बाँकी दुई खेलमा जित निकालेमात्र पुग्दैन अन्य टिमको नतिजामा भर पर्नु पर्ने हुन्छ।
पहिलो जितको खोजीमा रहेको मनाङलाई मुख्य खेलाडी घाइते हुँदा समस्या परेको छ। राष्ट्रिय टिमको मैत्रीपूर्ण खेलका दौरान घाइते भएका फरवार्ड अञ्जन विष्ट मनाङको टिमबाट बाहिरिएको प्रशिक्षक लोप्साङले बताए। यस्तै अर्का फरवार्ड अजिज ओलावालेले पनि ढाकाविरूद्धको खेल गुमाउँदैछन्। ओलावाले लगातार दोस्रो पहेँलो कार्डका कारण टिमबाट बाहिर भएका हुन्।
‘टिमका मुख्य खेलाडी नहुँदा ‘फरमेसन’मा असर गर्छ। अब नयाँ खेलाडीलाई मौका दिन्छौं,’ प्रशिक्षक लोप्साङको भनाइ छ।
मुख्य खेलाडी राष्ट्रिय टिमबाट मैत्रीपूर्ण खेलका लागि गएकाले प्रशिक्षणमा असर गरेको छ। मनाङका ९ खेलाडी राष्ट्रिय टिममा परेका थिए। यद्यपी मनाङले उपलब्ध खेलाडीबाट प्रशिक्षण गरेको लोप्साङको भनाइ छ।
नेपालले गत साता मलेसिया र चाइनजिन ताइपेईविरूद्ध खेलेको थियो। मलेसियासँग २-० ले पराजित भएको नेपालले ताइपेईलाई भने १-१ गोलको बराबरीमा रोकेको थियो।
यसै सिजनबाट एएफसी कपमा डेब्यू गरेको मनाङलाई एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पहिलो खेलमा बंगलादेशको लिग च्याम्पियन ढाका अबहानीले १-० गोलले पराजित गरेको थियो। दोस्रो खेलमा मनाङलाई गत सिजनको भारतीय सुपर लिग च्याम्पियन चेन्नइयीनले २-० गोलले हराएको थियो।
तेस्रो चरणको खेलमा मनाङ र गत सिजनको आइ लिग च्याम्पियन मिर्नेभा पञ्जावबीच भिडन्त भएको थियो। भारतको भुनवेश्वरमा भएको खेलमा मनाङले २-२ को बराबरी खेलेर एएफसी कपमा पहिलो अंक र पहिलो गोल गर्न सफल भएको थियो। मनाङका लागि अभिषेक रिजाल र एडिलाजा सोमिडेले गोल गरेका थियो। मनाङले दुई पटक पछि परेको स्थिति उल्टाएर बराबरी खेलेको थियो।
चौंथो चरणको खेलमा मनाङ र पञ्जावबीच सातदोबाटोमा प्रतिस्पर्धा भयो। खेल १-१ को बराबरीमा सकिएको थियो। मनाङले १० खेलाडीमा सीमित पञ्जावविरूद्ध मनाङले खेल सकिन ९ मिनेट बाँकी छँदा गोल गरेको थियो।
मनाङले अन्तिम चरणको खेल असार ११ गते चेन्नइयीन एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल्नेछ। चेन्नइयीनविरूद्धको खेलअघि मनाङलाई ढाकाविरूद्ध बुधबार हुने खेल नै महत्वपूर्ण छ।