फुटबल खुट्टाले खेलिन्छ। तर फुटबलमा हातले पनि धेरै भर दिन्छ। विपक्षीसँग लड्दा, बल थ्रो गर्दा वा दौडिदा होस्, हातले थप बल दिन्छ। गोलकिपरलाई त हात नभइ हुन्न।
तर पोखरा लेखनाथका १८ वर्षिय विशाल गर्बुजा भने एउटा हात नभएपनि फुटबल राम्रो खेल्छन्।
उनले जन्मिँदै बाँया हातको कुइना मुनिको भाग गुमाउनुपर्यो।
राम्रो खेल्ने भएकै कारण स्थानीय क्लबहरु, साथीभाइ उनलाई खोजी-खोजी प्रतियोगिता खेल्न लान्छन्। विशालले सेतोपाटीसँग भने, ‘सकेसम्म म बोलाएको ठाउँमा खेल्न जान छुटाउदिन।’
विशाल जहाँ खेल्न जान्छन् त्यहाँबाट मायाको चिनो, सम्मान पत्र लिएरै आउँछन्। उनले मेडल, सम्मान पत्रलाई आफ्नो कोठाको भित्तामा समेत झुण्डाउन पाएका छैनन्। उनले भने, ‘हामी परिवार दुई वटा कोठामा बस्छौं। साँघुरो हुन्छ। त्यसैले मेडल, सम्मान पत्र एकैठाउँ थुपारेर राख्छु।’
विशालले फुटबल सानैदेखि खेलेका होइनन्। उनको फुटबलको साइनो ह्याण्डबलसँग जोडिन्छ।
उनी माग्दीको मराङ भन्ने गाउँमा जन्मिए। तर उनले खेलमा पाइला पोखरा आएपछि मात्र टेके।
विशाल ६ वर्षका थिए। उनको परिवार म्याग्दीबाट पोखरा आयो। त्यसपछि उनी पोखरा लेखनाथकै विद्यालयमा पढ्न थाले।
कक्षा ७ सम्म विशालले खेल के हो जानेका थिएनन्। उनको खुट्टाले फुटबल छोएको थिएन। उनले भने, ‘साथी र दाइहरुले खेलेको हेर्थे। मेरो काम भनेको स्कुल जाने र आउने मात्र हुन्थ्यो।’
त्यहीबेला एकजना शिक्षक उनलाई ह्याण्डबल खेल्छौं भनेर सोध्न आए। उनलाई एकचोटी प्रयास गरौं भन्ने भयो। हुन्छ भन्दिए।
यु-१२ टोलीबाट उनले प्रतियोगिता खेले। टोली तेस्रो भयो।
विशालले टोलीलाई दुई हात भएका साथीहरुले भन्दा धेरै गोल दिलाए। उनले भने, ‘मैले सोचेको थिइन यतिधेरै सम्मान पाउँछु भनेर। जिन्दगीको ठूलो खुशी नै त्यतिखेर पाए।’
त्यसपछि फेरी उनै शिक्षकले फुटबल पनि खेल्न सुझाए। ह्याण्डबलको सफलताले उनलाई आँट दियो। फुटबल पनि खेल्न सुरु गरे। अहिले उनी त्यहाँको स्थानीय क्लबहरुबाट खेल्छन्।
तर ह्याण्डबललाई उनले निरन्तरता दिन सकेनन्। उनले भने, ‘स्कुल लेभलमा प्रतियोगिता हुन्थ्यो। पछि क्लबहरुको भएन। त्यसैले ह्याण्डबल खेल्न बन्द नै भयो।’
अहिले उनी फुटबलमा मात्र केन्द्रित छन्। फुटबलमा उनी विंगर पोजिसनमा खेल्छन्। फ्रि-स्टाइल कौशल पनि राम्रो छ।
विशाल कुनै खेलाडीको फ्यान छैनन्। उनी सबै खेलाडी उस्तै ठान्छन्। अलिअलि लिओनस मेसी, क्रिस्टियानो रोनाल्डो र नेयमारलाई पछ्याउँछन्। उनले भने, ‘सबै खेलाडी उतिकै दुःख गरेर आएको हुन्छ। सबैको उस्तै कथा हुन्छ।’
एउटा हात नहुँदा सामान्य खेलाडीलाई जस्तो विशाललाई फुटबल खेल्न सहज छैन। उनले भने, ‘अर्को खेलाडीसँग पुसपास हुँदा अलिक गार्हो हुन्छ।’
फुटबलबाट उनले हार खाएका छैनन्। झन मेहनत गर्छन्। भ्याएसम्म प्रतियोगिता खेल्न जान्छन्। उनलाई देखेर विपक्षी खेलाडीले समेत थप हौसला पाएको कुरा सुनाउछन्। उनले भने, ‘यस्तो सुनेपछि म झन हौसिन्छु।’
अहिले उनको दैनिकी विहान कलेज जाने र बेलुका फुटबल खेलेर बितेको छ। फुटबल जति राम्रो खेल्छन् उनको पढाइ पनि त्यति नै राम्रो छ। अहिले उनी कक्षा १२ मा पढ्छन्। व्यवस्थापन पढेका उनको रुची अकाउन्टमा छ।
एसईईमा पनि उनले ‘ए’ ग्रेड ल्याएका थिए।
तर पढाइलाई उनले विकल्पमा राखेका छन्। सकेसम्म फुटबलमै भविष्य बनाउने उनको धोको छ। उनले भने, ‘त्यसैले अहिले पढाइलाई ५० प्रतिशत, फुटबललाई ५० प्रतिशत समय।’
उनले फुटबल खेलेको परिवारलाई भने धेरै मनपरेको छैन। उनले भने, ‘आमाबुवालाई सकेसम्म पढेरै केही गरोस् भन्ने इच्छा छ।’
आमाले जब फुटबल धेरे नखेल भन्ने कुरा गर्छिन् विशाल आफूले पाएको सम्मान पत्र र मेडल आमालाई देखाउछन्। आमाको मन न हो, नखेल भन्न सक्दिनन्। यसरी नै आमालाई फकाएर उनले फुटबललाई निरन्तरता दिइरहेका छन्।
उनको सपना भनेको व्यवसायिक फुटबल खेल्ने भन्ने नै हो। उनले भने, ‘मलाई नेपालको जर्सी लगाएर अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने चाहना छ।’