कुनै समय नेपाली राष्ट्रिय फुटबल टिमका भरपर्दा मिडफिल्डर थिए, भोला सिलवाल। सन् २००८ मा राष्ट्रिय टिममा डेब्यू गरेका सिलवालले लगातार ८ वर्ष राष्ट्रिय टिमबाट खेले।
सन् २०१६ मा घुँडामा चोट लागेपछि उनले राष्ट्रिय टिममा स्थान गुमाए। त्यसयता नेपाल पुलिस क्लबका खेलाडी भोलालाई चोटले दु:ख दिइरहेको छ। २ वर्षअघि घरेलु फुटबल फर्किएका भोला गत सिजनको शहिद स्मारक 'ए' डिभिजन लिगमा फेरि घाइते हुन पुगे।
लिगमा घाइते भएर आराम गरिरहेका सिलवाल आइतबार भने फरक भूमिका देखिए। ललित स्मृती यु-१८ फुटबल प्रतियोगिताअन्तर्गत सिलवालले नेपाल पुलिस क्लबबाट प्रशिक्षकको रुपमा डेब्यू गरे।
प्रशिक्षकको रुपमा भोलाले सुखद् नतिजा निकाल्न सफल भएका छन्। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पुलिसले जवालाखेल युथ क्लबलाई २-१ गोलले पराजित गर्यो।
‘खेलाडी हुँदा आफ्नो पोजिसनमा राम्रो खेल पुग्थ्यो। प्रशिक्षक हुँदा सबै तिर ध्यान पुर्याउनु पर्ने,’ पहिलो अनुभव सुनाउँदै सिलवालले सेतोपाटीसँग भने, ‘सुरुसुरुमा केहि नमिलेको जस्तो हुँदा आत्तिएको महसुस भयो। तर बिस्तारै खेल मिल्दै गयो।’
उनले पहिलो दिनको खेलमै प्रशिक्षक हुँदा निकै चनाखो र रणनीति बुन्न सक्ने हुनु पर्ने अनुभव गरेका छन्। ‘सबै पक्षमा राम्रो खेल्नु पर्ने त एक ठाँउमा छ। विपक्षीको रणनीतिमा पनि ध्यानु दिनु पर्छ,’ एएफसी सी लाइसेन्स प्राप्त प्रशिक्षक भोलाको भनाइ छ।
पहिलो दिनको खेलमा जित निकालेपछि भोला हौसिएका छन्। ‘पहिलो खेलमा जित हार्दा टिममा सकारात्मक प्रभाव परेको छ। अब हामी एक-एक खेलमा केन्द्रित भएर अघि बढ्छौं। पहिलो लक्ष्य क्वार्टरफाइनलमा पुग्ने बनाएका छौं,’ भोलाले भने।
३२ वर्षीय सिलवालले पुलिसबाट खेल्न थालेको १४ वर्षपछि प्रशिक्षकको जिम्मेवारी पाएका हुन्। पुलिसले घरेलु लिगमा दबदबा बनाउँदा सिलवाल प्रभावशाली खेलाडी थिए। सिलवाल लगायतका खेलाडीको स्वर्णिम पुस्ताकै बलमा पुलिसले २०६३ पछि लगातार तीन पटक सहिद स्मारक‘ए’ डिभिजन लिग जितेर घरेलु फुटबलमा एक छत्र राज गरेको थियो।
पुलिस क्लबमा गरेको उत्कृष्ट प्रदर्शनकै आधारमा सिलवालले सन् २००८ मा राष्ट्रिय टोलीमा डेब्युको मौका पाए। सिलवालले राष्ट्रिय टोलीका लागि अहिलेसम्म ३८ क्याप जितिसकेका छन् भने २ अन्तर्राष्ट्रिय गोल गरेका छन्। सिलवालले पछिल्लो पटक सन् २०१२ मा बंगलादेशविरुद्ध गोल गरेका थिए।
सन् २०१५ मा भारतविरुद्ध मैत्रीपूर्ण खेलका लागि सिलवाल राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा थिए। प्रशिक्षणका क्रममा सिलवालको घुँडामा हल्का चोट लाग्यो। हल्का चोटलाई सिलवालले हलुकै रुपमा लिए, क्लब स्तरीय प्रतियोगितामा मैदान उत्रिए।
दुर्भाग्य भनौं, हल्का चोट बल्झियो, सिलवाल झन्डै एक वर्ष मैदान बाहिर रहन वाध्य भए। त्यसता चोट र सिलावालबीच लुकामारी नै चलिरहेको छ। त्यसैले उनी बिस्तारै खेलाडीबाट प्रशिक्षण तर्फ मोडिँदैछन्।
यु-१८ प्रतियोगितामार्फत प्रशिक्षकमा डेब्यू गरेका भोलाले अहिले नै पूर्णकालिन प्रशिक्षणमा लाग्ने सोच बनाएका छैनन्। केहि वर्ष घरेलु फुटबलमा आफ्नो जादू देखाउने उनको इच्छा छ। ‘केहि महिना अझै आराम गर्छु। खुट्टाको चोट निको भएपछि केहि वर्ष अझै फुटबल खेल्ने रहछ,’ सिलवाल भन्छन्, ‘चोट निको भएन भने प्रशिक्षणमै लाग्छु।’