नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबका लागि एएफसी कपको यात्रा बिर्सनलायक बन्यो। यहि सिजनबाट एएफसी कपमा डेब्यू गरेको मनाङले कुनै पनि खेलमा जित निकाल्न सकेन।
समूह 'ई' मा मनाङले ६ खेलमा २ खेल बराबरी खेल्दा ४ खेलमा हार बेहोर्यो। मनाङले ६ खेलमा १४ गोल खदा ५ गोल गर्न सक्यो।
बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मनाङका लागि जित निकाल्ने सुनौलो अवसर थियो। गत सिजनको इन्डियन सुपर लिग च्याम्पियन चेन्नइयीनविरुद्ध २–० ले पछि परेको अवस्थामा मनाङले ८ मिनेट भित्र २ गोल फर्काएर खेललाई बराबरीमा ल्याएको थियो। तर अन्तिम समयमा सम्हालिन सक्दा नसक्दा मनाङले गोल खायो। जसले मनाङको एएफसी कपको यात्राको अन्त्य दु:खद् बन्यो।
समूहमा रहेका ढाका अबहानी लिमिटेड, मिर्नेभा पञ्जाव र चेन्नइयीन एफएसी मनाङको तुलनामा व्यवसायिक क्लब हुन्। तीनै क्लबको आफ्नै एकेडेमी छ भने उमेर समूहका टिमले नियमित फुटबल खेल्छन्। टिममा डाक्टर र आफ्नै प्राविधिक विश्लेषक छन्। तर मनाङको एकेडेमी त परै जाओस् नियमित अभ्यास गर्ने आफ्नै मैदान समेत छैन।
एएफसी कपमा सीमित स्रोत साधानका बावजुद मनाङले राम्रो खेलेको प्रशिक्षक छिरिङ लोप्साङ गुरुङ बताउँछन्। 'मनाङले एएफसी कपमा गरेको प्रदर्शनबाट म सन्तुष्ट छु,' गुरुङले अन्तिम खेलपछि भने,'मनाङको तुलनामा अन्य क्लब उच्च व्यवसायिक हुन्। उनीहरुको कोचिङ स्टाफ मात्र ५ जना भन्दा बढी हुन्छन्। तर मनाङमा त्यस्तो छैन।'
खेलाडी तथा अफिसियललाई हुने सुविधामा पनि मनाङ पछि रहेको गुरुङको भनाइ छ। 'हामी सबै कुरामा पछि छौं। तर पनि सबै टिमसँग प्रतिस्पर्धात्मक खेल्यौं,' उनले भने।
प्रशिक्षक गुरुङले राम्रो तयारी गर्न नपाएको पनि गुनासो पोखे। 'मनाङमा आबद्ध अधिकांस खेलाडी राष्ट्रिय टिमका छन्। राष्ट्रिय टिमको खेल हुँदा हामीले प्रशिक्षण गर्न पनि पाउँदैनौ। राम्रोसँग टिम सेट नहुँदै खेल्नु पर्दा गाह्रो हुन्छ,' गुरुङको भनाइ छ।
गुरुङले अन्य टिममा आवद्ध विदेशी खेलाडी र मनाङमा आवद्ध विदेशी खेलाडीको स्तर पनि समान नभएको बताए। 'अन्य टिममा आवद्ध विदेशी खेलाडी उच्च स्तरिय छन्। तर हामीले त्यो स्तरका खेलाडी भित्र्याउन सकेका छैनौं,' उनले भने।
मनाङका कप्तान विराज महर्जन मनाङको हारमा रक्षापंक्तिमा कमजोरी देख्छन्। 'एउटा डिफेन्डरको रुपम भन्नु पर्दा म सन्तुष्ट छैन। हामीले कति गोल आफ्नै कारणले खाएका छौं,' महर्जनले भने।
समूह ‘ई’ मा ढाकाले ६ खेलबाट १३ अंक जोड्यो। समूह विजेता बन्दै ढाका एएफसी कपको दोस्रो चरणमा पुग्न सफल भयो। ११ अंक जोडेको चेन्नइयीनको दोस्रो चरणमा पुग्ने सपना पूरा हुन सकेन।
पञ्जावले५ अंक जोड्यो। पञ्जावले पनि ५ खेलमा बराबरी खेल्यो। छैटौं खेलमा पराजित भएको पञ्जाव पनि मनाङ जस्तै जितविहीन बन्यो। पुछारको मनाङले २ खेलमा बराबरी खेल्दै २ अंक जोड्यो।
मनाङलाई एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पहिलो खेलमा बंगलादेशको लिग च्याम्पियन ढाकाले १-० गोलले पराजित गरेको थियो।
दोस्रो खेलमा मनाङलाई चेन्नइयीनले २-० गोलले हराएको थियो।
तेस्रो चरणको खेलमा मनाङ र गत सिजनको आइ लिग च्याम्पियन पञ्जावबीच भिडन्त भएको थियो। भारतको भुनवेश्वरमा भएको खेलमा मनाङले २-२ को बराबरी खेलेर एएफसी कपमा पहिलो अंक र पहिलो गोल गर्न सफल भएको थियो। मनाङका लागि अभिषेक रिजाल र एडिलाजा सोमिडेले गोल गरेका थियो। मनाङले दुई पटक पछि परेको स्थिति उल्टाएर बराबरी खेलेको थियो।
चौंथो चरणको खेलमा मनाङ र पञ्जावबीच सातदोबाटोमा प्रतिस्पर्धा भयो। खेल १-१ को बराबरीमा सकिएको थियो। मनाङले १० खेलाडीमा सीमित पञ्जावविरूद्ध मनाङले खेल सकिन ९ मिनेट बाँकी छँदा गोल गरेको थियो।
पाँचौ चरणमा मनाङले ठूलो अन्तरकवो हारको सामना गर्न पर्यो। मनाङलाई ढाकाले उसैको मैदानमा ५–० गोलले पराजित गरेको थियो।
अन्तिम खेलमा चेन्नइयीनसँग ३–२ ले पराजित भएपछि मनाङ जीतिविहीन बन्न पुग्यो।