पुस ९ गते सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लब र न्यूरोड टिमविरुद्धको खेलमा सबैको नजर सन्तोष साहुखलमा थियो।
सन्तोष आफैका लागि पनि सो खेल निकै महत्वपूर्ण थियो। उनी लिगमा १०० गोल गर्ने संघारमा थिए। सन्तोषका दाइ समेत रहेका च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले त्यहीँ खेलमै भाइले कीर्तिमान बनाउँछ भन्नेमा विश्वस्त थिए। तर सन्तोष गोल गर्नबाट चुके र उनको १०० गोलको कीर्तिमान पनि एक खेल पर धकेलियो।
साहुखल दोस्रो पटक कीर्तिमान बनाउने अवसर लिएर जावालाखेलविरुद्ध मैदानमा उत्रिए। तर सो खेलमा पनि उनी गोल गर्नबाट चुके। फेरी उनको कीर्तिमान धकेलियो।
यहाँसम्म आउँदा च्यासलले साहुखलको कीर्तिमान त हेर्न पाएन नै, उल्टो लगातार दुई खेलको नतिजा विपक्षीलाई सुम्पिनु पर्यो।
बुधबार नेपाल पुलिस क्लबविरुद्ध सन्तोष लगातार दुई खेल गुमाएको दबाबसहित तेस्रो पटक कीर्तिमान बनाउने अवसरसहित मैदान उत्रिए। तेस्रो मौकालाई भने उनले फुत्किन दिएनन्।
खेलको १८ औं मिनेटमा गोल गर्दै १०० गोलको कीर्तिमानी बनाए। योसँगै उनी नेपाली फुटबलको घरेलु लिगमा १०० गोल गर्ने पहिलो खेलाडी बनेका छन्।
पुलिसविरुद्धको खेलमा ४९ मिनेटमा दोस्रो गोल गरेका सन्तोष जारी लिगको सर्वाधिक गोलकर्ता समेत हुन्। उनले अहिलेसम्म पाँच गोल गरेका छन्। सन्तोषले कीर्तिमानी गोल गरेको खेल भने २-२ गोलको बराबरीमा सकियो।
सन्तोषले भने आफ्नो लक्ष्य १०० गोल गर्नुभन्दा पनि जारी लिगमा सबैभन्दा धेरै गोलकर्ता बन्नु रहेको बताए।
उनले आफ्नो सय गोलको खुसी परिवार र फ्यानहरुलाई समर्पित गर्न चाहेको बताए। आफ्नो १०० गोलको रेकर्ड नयाँ खेलाडीले तोडोस् भन्ने उनको चाहना छ।
'नयाँ आउने खेलाडीले यो रेकर्ड तोड्छु भनेर खेल्नुपर्छ। पहिले दाइहरुको ५० गोल हुँदा म पनि ५० गोल पुर्याउछु भनेर खेलेको थिए,' साहुखलले भने।
साहुखलले २०६० मा थ्रीस्टार क्लबबाट आफ्नो ए डिभिजन यात्रा सुरु गरेका थिए। संकटाविरुद्ध खेलमा डेब्यू गरेका उनले आफ्नो पहिलो खेलमै गोल गरेका थिए। आफ्नो पहिलो सिजनमा उनले थ्रीस्टारबाट ६ गोल गरे।
२०६६/६७ मा थ्रीस्टारबाटै लिग खेलेका उनले सर्वाधिक १९ गोल गरे। जारी लिग गरेर साहुखलले हालसम्म ११ लिग सिजन खेलिसकेका छन्।
नेपाली लिगमा १७ वर्ष बिताइसकेका सन्तोषले थ्रीस्टारबाट सबैभन्दा बढी गोल गरेका छन्। उनले थ्रीस्टारबाट ६६ गोल गरेका छन्।
यस सिजनको लिगमा सन्तोषको लक्ष्य सर्वाधिक गोलकर्ता सँगै च्यासललाई लिग जिताएर राष्ट्रिय टिममा फर्कने रहेको छ।
पछिल्लो समय भने साहुखल जापानमा बस्दै आएका छन्। जापानमा आफू बच्चाहरुलाई प्रशिक्षण गर्ने र आफैं पनि क्लबबाट खेल्ने उनले बताए। लिग सकेर पुनः जापान फर्किने उनले जनाए।
सन्तोषको नेपाली लिगमा गोल
२०६० – थ्रीस्टार – ६ गोल
२०६१– सशस्त्र प्रहरी – ६ गोल
२०६२– थ्रीस्टार – ९ गोल
२०६३– थ्रीस्टार – ११ गोल
२०६६/६७– थ्रीस्टार – १९ गोल
२०६८ – मनाङ मर्स्याङ्दी – १६ गोल
२०६९ – थ्रीस्टार – १७ गोल
२०७०– थ्रीस्टार– ९ गोल
२०७५ – च्यासल – ३ गोल
२०७६ – च्यासल – ५ गोल
कुल गोल – १०१ गोल