सहिद स्मारक ए डिभिजन लिगको साविक विजेता मनाङ मर्स्याङ्दी क्लबका प्रशिक्षक धनेश्वर प्रजापतिले रेफ्रिको निर्णयमा असहमति जनाएका छन्।
शनिबार हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरीमा रोकिएपछि मनाङका प्रशिक्षक प्रजापतिले ३ जना रेफ्रिसहित १५ जनाविरुद्ध खेल्नु परेको समेत आरोप लगाए।
मनाङको नेतृत्व नाइजेरियाली प्रशिक्षक तोपे फुजाले सम्हालिरहेका छन्। तर उनी मनाङको आधिकारि प्रशिक्षकको रुपमा छैनन्। मैदानमा फुजाले रणनीति बनाउने भए पनि मनाङले प्रशिक्षकमा धनेश्वर प्रजापतिको नाम राखेको छ।
खेलमा मनाङ १० खेलाडीमा सीमित बनेको थियो। मनाङका सुरज विकलाई ७३ मिनेटमा रेफ्रीले सिधा रातो कार्ड देखाएर मैदान बाहिर पठाएका थिए।
'हामीले ३ जना रेफ्रीसहित १५ जनाविरुद्ध खेल्नु पर्छ,' उनले भने,'हाम्रै खेलाडी घाइते हुँदा पनि उल्टै रातो कार्ड देखाइन्छ।'
उनले शनिबार रेफ्रीले अर्को टिमको बेच्नमा दुई-तीन जनालाई उठ्न दिएको पनि आपत्ति जनाए।
उनले गत साता मच्छिन्द्र क्लबविरुद्धको खेलका दौरान खेलाडीबीच भएको झगडामा आफ्नो टिमको खेलाडीलाई बढी कारबाही गरिएको समेत आरोप लगाए।
'एन्फाले हामीलाई बढी कारबाही गरेको छ। एन्फाले कुनै खेलाडीलाई २ खेल र कुनैलाई ५ खेलको प्रतिबन्ध लगाएको छ। कसरी भिडियो विश्लेषण गरियो ?,' उनले भने।
एन्फाले मनाङ र मच्छिन्द्र क्लबको खेलमा झगडामा उत्रिएका ६ खेलाडीलाई बिहीबार कारबाही गर्ने निर्णय गरेको थियो।