पोखरामा भएको गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उपाधि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङकै गृहजिल्ला लमजुङले जितेको छ।
जिल्लाको प्रतिनिधित्व गर्दै सहभागी भएको सदरमुकाम बेसीशहरस्थित त्रिवेणी युवा क्लबले फाइनलमा कास्कीका आदर्श युवा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो।
फाइनल खेलको १४ मिनेटमै त्रिवेणीका खेलाडी अश्विन गुरुङले पहिलो गोल गर्दै अग्रता लिएका थिए। त्रिवेणीकै अर्का खेलाडी नवराज गुरुङले ४९ मिनेटमा अर्को गोल थपेसँगै खेल २–० गोलमा सकिएको थियो।
फाइनल खेलमा त्रिवेणीका गोलरक्षक आकाश रानाभाट म्यान अफ दि म्याच बने। उनले प्रतियोगिताको उत्कृष्ट गोलरक्षकको उपाधि समेत पाएका छन् । खेल अवधिभर चार गोल गरी त्रिवेणीकै नवराज गुरुङ सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडी बने भने त्रिवेणीकै अन्जन देवकोटा उत्कृष्ट डिफेन्डर बने।
लमजुङको प्रतिनिधित्व गर्दै मुख्यमन्त्री कपमा सहभागिता जनाएको त्रिवेणीले स्याङजाको होराईजन क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो भने कास्कीको घरेलु टिम आर्दशले तनहुँको भीमाद युथ क्लबलाई पराजित गर्दै फाइनलमा पुगेको थियो।
प्रतियोगिता प्रदेश लिग कमिटीको आयोजना एवं अखिल नेपाल फुटबल संघ एन्फा कास्कीको व्यवस्थापनमा संचालन भएको थियो। प्रतियोगितामा विजयी भएसँगै त्रिवेणी युवा क्लबले ५ लाख रुपैयाँ नगदसहित ट्रफी पुरस्कार पायो भने दोस्रो भएको कास्कीको आदर्श युवा क्लबले ३ लाख रुपैयाँ नगद र ट्रफीमा चित्त बुझायो।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोल कर्ता, उत्कृष्ट डिफेन्डर लाई जनही पाँचहजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिएको छ। प्रतियोगिताको विजयी खेलाडीलाई मंगलबार एक समारोहका विच मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक समारोहकाबीच पुरस्कार प्रदान गरे।
प्रतियोगिताको उद्घाटन अवसरमा गण्डकी प्रदेश सांसद राजिव गुरुङ ‘दिपक मनाङे’ले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेपछि विवादित बनेको थियो।
मनाङेको झापड प्रकरणले प्रतियोगिता ओझेलमा परेको थियो। झापड प्रकरणले प्रहरी हिरासतमा पुगेका मनाङे ६ हजार धरौटीमा रिहा भएका छन् भने एन्फा कास्कीका अध्यक्ष गुरुङ ठगी तथा बैकिङ कसुरमा अहिले प्रहरी हिरासतमै छन्।