युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा गृहनगर पोखरा आउँदा जहिल्यै एउटा दोहोर्याउँछन्, ‘पोखरा फुटबल रंगशाला समयमै सकिन्छ।’
उनले पहिलो पटक २०७५ फागुन २६ गते रंगशालाको शिलान्यास गर्दा यो भनाइ राखेका थिए।
रंगशालामा प्यारापिटसहित फुटबल मैदान निर्माणको ठेक्का लागेको २ महिनापछि मन्त्री विश्वकर्माले शिलान्यास गरेका थिए। त्यसलगत्तै नयाँ प्यारापिट बनाउने भनेर पुरानो प्यारापिट भत्काइयो। तर नयाँ प्यारापिट बनेन।
लगत्तै मनकामना पोखरा कप फुटबल र आहा रारा गोल्डकप फुटबल प्रतियोगिता भयो, दर्शकले भुइँमा बसेर फुटबल हेर्नुपर्यो।
रंगशाला निर्माणको शिलान्याससँगै पोखरेली खेलप्रेमीलाई मात्र नभइ देशैभरका खेलाडी र खेलप्रेमी हर्षित भएका थिए। कारण, काठमाडौंको दशरथ रंगशालाभन्दा ठूलो र स्तरीय रंगशाला पोखरामा बन्ने निश्चित भएको थियो।
रंगशाला बनाउन भारतको ग्रेट स्पोर्टस इन्फ्रा र नेपालको एमए कन्स्ट्रक्सनले संयुक्त रूपमा ठेक्का पाएका थिए। रंगशाला बनाउनका लागि मात्र १ अर्ब ३० करोड रुपैयाँ लागतमा ६ महिनाभित्रै काम सक्ने गरी ठेक्का सम्झौता भएको थियो।
सम्झौताको ६ महिना सकिँदा रंगशाला बनाउने काम सुरू नै भएन। असार मसान्तमा म्याद सकिएपछि राष्ट्रिय खेलकुद परिषदले मंसिर पहिलो सातासम्मका लागि म्याद थप्यो। थपिएको समयमा पनि काम सकिएन।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबलसहित पोखरामा विभिन्न खेलकुद प्रतियोगिता भए। ठेकेदारले रातारात काम गरे। फुटबल रंगशालामा ४ दिनमा १० हजार सिट क्षमताको प्यारापिट जडान गरे। काम चलाउ फुटबल रंगशाला तयार भयो। साग खेलकुद सकियो।
रंगशाला निर्माणको काम सक्न दोस्रो पटक फेरि म्याद थपियो। चैत मसान्तसम्म निर्माण सक्ने गरी म्याद थपिए पनि अझै काम सकिनेमा पोखरेली विश्वस्त छैनन्। राष्ट्रिय खेलकुद परिषदले फागुन २२ गतेदेखि १८ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गर्न अनुमति दिएको छ। यस प्रतियोगितासम्म १३ हजार सिट क्षमताको प्यारापिट निर्माण सक्ने राखेपको लक्ष्य छ।
रंगशाला निर्माणको सम्झौता गर्दा १६ हजार ५ सय सिट क्षमताको प्यारापिट बनाउने भनिए पनि अहिले २० हजार सिट क्षमताको प्यारापिट बनाउन सम्झौता र लागत थप्ने जनाइएको छ।
सिट क्षमतासँगै रंगशालाको उत्तरतर्फ एउटा भवन समेत बनाउने गरी समय र लागत थपिने राखेपले जनाएको छ।
रंगशाला निर्माण सकिएपछि पोखरा फुटबल रंगशाला नेपालको ठूलो हुनेछ। नेपालको एक मात्र अन्तर्राष्ट्रिय दशरथ रंगशालामा झण्डै १५ हजार दर्शक मात्र अट्छन्।
रंगशाला निर्माण कम्पनीका प्रबन्धक एवं इञ्जिनिर दीपक बरालले थप काम गर्नुपर्ने भएकाले म्याद पनि थपिने बताए।
फिफा मापदण्ड अनुसारको रंगशाला निर्माण भइरहेको उनले बताए। रंगशालामा भिआइपीदेखि अपांगता भएका व्यक्तिका लागि छुट्टाछुट्टै सिट सहितको प्यारापिट निर्माण हुनेछ। खेलाडीका लागि चेञ्जिङ रूम र १७ वटा शौचालय लगायतका संरचना अहिले निर्माण भइरहेका छन्।