नेपाल आर्मी क्लबले १८ औं आहा रारा गोल्डकपको अन्तिम चारमास्थान पक्का गरेको छ।
पोखरा रगंशालाको फुटबल मैदानमा मंगलबार भएको अन्तिम क्वारटरफाइनल खेलमा आर्मीले संकटा क्लब काठमाडौंविरुद्ध ३–० को फराकिलो जित निकाल्दै सेमिफाइलन यात्रा पक्का गरेको हो।
आर्मीको जितमा सुदिल राई, नवयुग श्रेष्ठ र बिबेक बस्नेतले एक/एक गोलको योगदान दिएका थिए। आहा रारा गोल्डकपमा १४ औं पटक सहभागी आर्मी चार पटक फाइनल पुगेपनि उपाधि जित्न सकेको छैन भने संकटाको यो पाँचौ सहभागिता हो। संकटाले पनि आहा रारामा सेमिफाइनल भन्दा अगाडिको यात्रा तय गर्न सकेको छैन।
यो सिजनमा तेस्रो पटकको भेटमा आर्मीले बाजी मार्यो। सहिद स्मारक लिगमा १–१ को बराबरी खेलेको लिगको उपविजेता आर्मीले इलामको भ्याली गोल्डकपमा समेत २–१ ले जितेको थियो।
माइभ्याली, राइनो कप, सतासी गोल्डकप खेलेको आर्मी आहा रारा गोल्डकप उपाधि जितेर २०७६ लाई विदाइ गर्ने योजनामा छ।
संकटा विरुद्ध आर्मीले खेलको १५ औं मिनेटमा गोलको खाता खोलेपछि संकटाको संकट सुरु भयो। नवयुग श्रेष्ठको पासमा सुदिलले फर्ष्ट बार च्यापेर हानेको प्रहार सिधै गोल भएपछि आर्मीले अग्रता लिएको थियो।
पहिलो हाफ १–० ले टुङग्याएको आर्मीले दोश्रो हाफमा दुई गोल गर्न सफल भयो। दोश्रो हाफमा आक्रामक देखिएको आर्मीले ७१ औं मिनेटमा दोश्रो गोल गर्दै अग्रता दोब्बर बनायो।
आर्मीका लागि सन्तोष तामाङले प्रहार गरेको कर्नर किकमा विकास तामाङले हेड गरेपछि किपरले समात्ने क्रममा रिबाउण्ड भएको बललाई पोष्टको दिशा दिँदै नवयुग श्रेष्ठले अग्रता दोब्बर बनाएका हुन्।
६८ औं मिनेटमा सुदिल राईको सट्टामा मैदान प्रवेश गरेका बिबेक बस्नेतले ७५ औं मिनेटमा सेसेहाङ आङ्देम्वेको पासमा गोल गर्दै खेल ३–० मा ल्याएर संकटाको आहा राराको यात्रा टुङग्याइदिए। अब आर्मीको सेमिफाइनल भेट मनाङ मस्र्यादीसँग पक्का भएको छ।
लगातार आक्रामक बनेको आर्मीले आधा दर्जन बढी गोल गर्ने अवसर खेर फाल्यो।
६२ औं मिनेटमा नवयुग श्रेष्ठको पासमा जर्ज प्रिन्स कार्की गोल गर्न असमर्थ भए। लगत्तै ७३ औं मिनेटमा सन्तोष तामाङको प्रहारमा पनि विपक्षी गोलकिपर राजाबाबु थापा नै बाधक बने।
आर्मीसामु निरीह देखिएको संकटाले केही राम्रा अवसर सिर्जना गरेपनि गोल गर्न सकेन। ४१ औं मिनेटमा संकटाका ड्याडी अम्बाले ओभरल्यापमा गएर गरेको प्रहार क्रसबार माथिबाट बाहिरियो। ६० औं मिनेटमा मेस्सौके पिएरेले विपक्षी डिफेन्डरको खुट्टाबाट खोसेर गरेको प्रहार फष्र्टबार हुँदै बाहिरियो।
आर्मीका प्रशिक्षक नविन न्यौपानेले लिगपछि पहिलो पटक सेट टिम मैदान उत्रँदा पहिलो हाफमा तालमेल नमिलेको बताए। उनले आहा रारा गोल्डकपको उपाधि जितेर २०७६ को सुखद विदाई गर्ने योजना सुनाए।
यता संकटाका प्रशिक्षक सल्यान खड्गीले खेलमा पाएको अवसर सदुपयोग नहुँदा पराजित हुनुपरेको बताए।