आहा रारा गोल्डकपको फाइनल खेल मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिसबीच हुने भएको छ। १८ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइलन खेलमा बिहीबार मनाङ मर्स्याङ्दीसँग त्रिभुवन आर्मी क्लब ३–२ गोल अन्तरले पराजित भएको छ।
मनाङको जितमा विदेशी खेलाडी फ्लोरेन्ट, बिमल राना र अन्जन विष्टले गोल गरे। आहा रारामा १३ औं पटक सहभागी आर्मी चार पटक फाइलन पुगे पनि उपाधि जित्न सकेको थिएन। यसपटक भने आर्मी सेमिफाइनलबाटै बाहिरिएको छ।
नेपाल पुलिस क्बल यसअघि नै फाइनलमा पुगिसकेको छ।
सातौ संस्करणमा नेपाल पुलिससँग आर्मी ५–०, आठौंमा १–० चौधौमा मनाङसँग १–० र सत्रौंमा थ्री स्टारसँग टाइब्रेकरमा ५–४ गोलले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो। पोखरेली मैदानमा आर्मीसँगको चौथो भेटमा पनि मनाङले बाजी मार्याे।
नवौं र १३ औं संस्करणको क्वार्टरफाइलनमा १–० र २–१ ले मनाङले आर्मीलाई पराजित गरेको थियो। मनाङले भने पाँच पटक आहा रारा गोल्डकपको उपाधि जितिसकेको छ।
बिहीबार फाइनलका लागि भएको खेलमा मनाङले आर्मी विरुद्ध चौथो मिनेटमै गोल गर्यो। मनाङका खेलाडी सुशिल लामाको कर्नरमा बिमल रानाको हेडलाई अन्जन विष्टले मिलाइदिएको पासमा फ्लोरेन्टले गोल गरेका थिए।
अन्जन विष्टको पासमा मनाङका लागि दोश्रो गोल खेलको २९ औं मिनेटमा बिमल रानाले गरे। आर्मीका गोलरक्षक विवश चौधरीसँग अगाडि बढेको अवस्थामा दोस्रो बार च्याप्दै प्रहार भएको बल गोल भएको थियो।
मनाङ विरुद्ध उत्कृष्ट अवसर सिर्जना गर्न नसकेको आर्मीले ४१ औं मिनेटमा प्राप्त अवसरलाई कप्तान भरत खवासले हेड मार्फत पहिलो गोल फर्काएका थिए। प्रतियोगिताको पहिलो हाफमा रक्षात्मक रहेका आर्मीका खेलाडीले दोस्रो हाफमा सुधार गरेपनि ८१ औं मिनेटमा मनाङको तेस्रो गोल खानुपर्यो।
मनाङका खेलाडी विमल रानाले ८१ औं मिनेटमा दिएको पास अन्जन विष्टले गोलमा परिणत गरेका थिए। प्रतियोगिताको ८३ औं मिनेटमा आर्मीका टंक बस्नेतको पासमा दीपकुमार लामाले गोल गर्दै अन्तर घटाएका थिए।
मनाङका प्रशिक्षक फुजा टोपेले नेपाल आर्मी टिम राम्रो भएको बताउँदै एक वा दुई गोलले जित्ने अनुमान गरेको बताए। आर्मीका प्रशिक्षक नविन न्यौपानेले डिफेन्डमा तालमेल नमिल्दा त्यसको फाइदा मनाङले उठाएको प्रतिक्रिया दिए। प्रतियोगिताको फाइनल शनिबार पोखरा रंगशालामा हुनेछ।