निर्माणाधीन पोखरा रंगशालाको काम लकडाउनका बेला पनि निरन्तर भइरहेको छ।
रंगशाला निर्माणमा अहिले पनि दैनिक झण्डै ८० जना मजदूरले काम गरिरहेका छन्।
रंगशालाको फुटबल मैदान निर्माण अन्तिम चरणमा पुगेको छ भने वैकल्पिक फुटबल मैदान सम्याएर अहिले दुबो रोप्न काम भइरहेको राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले बताए।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई ध्यानमा राखेर रंगशालाको कामलाई निरन्तरता दिएको उनले बताए।
वैकल्पिक मैदान निर्माणको काम गत चैत ११ गतेदेखि निर्माण सुरू भएको मैदानमा बुधबारबाट दुबो रोप्न सुरू भएको हो।
दुबो रोप्ने काम सकिएपछि वैकल्पिक मैदान तयार हुने गुरुङले बताए ।
उनका अनुसार, रंगशालामा ‘बरमुडा’ दुबो रोपिँदैछ।
भारतको कलकत्ताबाट १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको समयमा पोखरा फुटबल रंगशालामा यही दुबो रोपिएको थियो।
वैकल्पिक फुटबल रंगशाला २०६४ सालमा निर्माण भए पनि मर्मत सम्भार र स्तरवृद्धि नहुँदा भत्किएको थियो। यो मैदान ११५ मिटर लम्बाई र ६८ मिटर चौडाई रहेको छ।
युवा तथा खेलकुद मन्त्रालयले वैकल्पिक मैदान पुनर्निर्माण गर्न गर्न ९० लाख बजेट विनियोजन गरेको थियो।
यसलाई पुनर्निर्माण गर्न एन्फा कास्कीमार्फत् उपभोक्ता समितिले ३० लाख लिएर काम सुरू गरेको भए पनि बीचैमा छोडेपछि अलपत्र पारेको थियो।
अलपत्र परेको वैकल्पिक फुटबल मैदान बाँकी ६० लाख रुपैयाँ खर्चेर निर्माणको काम निरन्तरता दिएको राखेपका सदस्य गुरुङले बताए।
वैकल्पिक मैदानमा चेन्जिङ रूम, शौचालय र मञ्च समेत निर्माण गरिँदैछ।
यो मैदान निर्माण भएपछि स्थानीय र क्लबस्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्न समेत सहज हुनेछ।
यस्तै, खेलाडीलाई प्रशिक्षणका लागि मैदानको अभाव पनि हट्ने राखेपले जनाएको छ।
पोखरा रंगशालाको मुख्य फुटबल रंगशालाको काम पनि अन्तिम चरणमा पुगेको राखेप सदस्य गुरुङले बताए।
केही भवन बनाउन बाँकी रहे पनि मैदान र प्यारापिटको काम भने सकिनै लागेको उनले बताए।
अहिले लकडाउनका समयमा मजदूरलाई बिहानको खाना र खाजा खुवाएर काममा लगाएको उनले जानकारी दिए।
पोखरा रंगशालाको मुख्य फुटबल मैदान बनाउन १ अर्ब २८ करोडमा भारतीय कम्पनी ग्रेट स्पोर्ट इन्फ्रा र नेपाली कम्पनी एमए कन्स्ट्रक्सन जेभीले ठेक्का पाएको थियो।
रंगशालाको ठेक्का सम्झौतापश्चात २०७५ फागुन २६ गते शिलान्यास भएको थियो। सम्झौतामा २०७६ असार मसान्तसम्म सक्नुपर्ने उल्लेख भए पनि ठेकेदार पक्षको ढिलासुस्तीले अहिलेसम्म काम रोकिएको राखेपले जनाएको छ।
रंगशालामा स्विमिङ पुल, सुटिङ रेञ्ज र क्रिकेट मैदानका बनाउने योजना रहेको जनाएको छ।
पोखरा रंगशाला ४ सय १५ क्षेत्रफलमा फैलिएको छ। रंगशालामा फुटबलको दुइटा मैदान रहेको छ।
यस्तै, क्रिकेट, आर्चरी, ह्याण्डबल, ब्याडमिन्टन, टेनिस, भलिबल, बास्केटबल, स्केटिङ, बहुउद्धेश्यीय कभर्डहल लगायतका संरचना रहेको छ।