लकडाउनका कारण घरै बस्नुपर्दा खेलाडीलाई व्यायाम र अभ्यासका लागि उपयुक्त स्थान अभाव छ। त्यसैले उनीहरूले अभ्यासका लागि नयाँ-नयाँ तरिका अपनाइरहेका छन्। कसैले बैठक कोठामै प्रशिक्षण गरेका छन्, कसैले घरको छतमा म्याट बिछ्याएका छन्।
राष्ट्रिय फुटबल टिमका मिडफिल्डर बिक्रम लामालाई भने व्यायाम गर्ने ठाउँ साँघुरो भयो भनेर चिन्ता छैन। ललितपुरको झरुवाराशीको जंगल उनको प्रशिक्षण स्थान बनेको छ।
उनले बल निकै मिस गरेका छन्। त्यसैले होला बेलाबेला खुट्टाले बललाई यताउता हान्छन्।
'बानी नछुटोस् भनेर कहिले बल भित्तामा हान्छु, कहिले ड्रिबल गरेर बस्छु,' उनले भने।
फुटबल मैदानमा जस्तो धित मरुन्जेल खेल्न नपाए पनि प्राकृतिक वातावरणमा अभ्यास गर्न पाउँदा बिक्रम आनन्द महशुस गरेका छन्।
थ्रिस्टार क्लबका कप्तान लामा लकडाउनअघि च्यासलमा बस्थे। च्यासलमै हुर्केका उनी लकडाउन लगत्तै झरुवाराशीमा बनाइएको घरमा सरे।
'च्यासलमा खाली स्थान कम छ। लकडाउन लामो समय जान्छ भन्ने लागेर सपरिवार यहाँ आएका हौं,' झरुवाराशी जंगलमा अभ्यास गर्दैगर्दा भेटिएका लामाले भने, 'नयाँ ठाउँमा बस्दा छुट्टै रमाइलो हुन्छ। यहाँ खुल्ला ठाउँ छ। अभ्यासको वातावरण पनि छुट्टै हुन्छ भनेर आएको हुँ।'
बिक्रम घरबाट पाँच मिनेट हिँडेर जंगलमा व्यायाम र अभ्यास गर्न बिहान-बेलुका जाने गरेका छन्।
'नयाँ स्थानमा बस्दा दिमागले स्वतन्त्र तरिकाले सोच्न सक्छ,' उनले भने। झरुवाराशीमा अर्गानिक खानेकुरा पाउनु उनका लागि अर्को फाइदाको कुरा हो।
लकडाउनमा उनले परिवारलाई पनि भरपुर समय दिन पाएका छन्। त्यसैले यो उनको जीवनको अविस्वमरणीय क्षणमध्ये एक बनेको छ। फुटबल मिस गरिरहेका उनले अहिलेको अवस्थामा स्वास्थ्य नै ठूलो मानेका छन्।
'अहिलेको अवस्थामा सबभन्दा ठूलो कुरा आफू स्वस्थ हुनु हो,' उनले भने, 'फुटबल धेरै नै मिस गरिरहेको छु। कहिले पहिलाकै वातावरणमा खेल्न पाइएला भन्ने लागेको छ।'
कोरोना भाइरसका कारण लकडाउन नभएको भए अहिले उनी घरेलु प्रतियोगिताका लागि व्यस्त हुन्थ्ये। राष्ट्रिय टिमको क्लोज क्याम्पमा हुन्थे। खुट्टा भाँचिएर शल्यक्रियापछि लय समातेका बिक्रम पछिल्लो समय राष्ट्रिय टिम र क्लब फुटबलमा जमिसकेका थिए।
'फुटबलमा ग्याप हुँदा पहिलाकै स्तरमा खेल्न गाह्रो हुन्छ कि भन्ने छ,' लामाले मैदानमा खेल्न नपाउँदाको घाटा बताए, 'आफूले शरीरलाई जति फिट राखे पनि मैदानमा खेल्न पाइएन भने स्तर अलि झरेको महशुस हुन्छ।'
उनको खुट्टाको फेरि शल्यक्रिया गर्नुछ। लकडाउनकै कारण मिति सर्यो, 'शल्यक्रिया ढिला हुने भयो भनेर चिन्तित छु।'
बिक्रमले नेपालमा तत्काल फुटबल प्रतियोगिता सञ्चालन हुने सम्भावना देखेका छैनन्। दर्शकबिनाको खेल कल्पना पनि गरेका छैनन्।
'विदेशमा लगानी र प्रायोजकले गर्दा अहिले बाध्यतावस फुटबल भइरहेको छ,' उनले भने, 'तर नेपालमा न त्यस्तो लगानी छ, न सम्पत्ति। नेपाली खेलकुदको सम्पत्ति भनेकै दर्शक हो।'
दर्शक र खेलाडी सुरक्षित हुने गरी व्यवस्थापन गरेर मात्र नेपालमा फुटबल खेलाउनुपर्ने उनको भनाइ छ।
'दर्शकबिनाको फुटबल हामीकहाँ सम्भव नहोला। यहाँ लगानीभन्दा पनि दर्शकका लागि खेल्ने गरिएको छ। क्लब र खेलाडी पनि व्यवसायिक छैनन्। त्यसैले दर्शकलाई फुटबलमा संग्लन गराउने गरी सुरक्षित तरिकाले फुटबल गराउनुपर्छ,' उनले भने।
कतिपयले पछिल्लो समय घरेलु फुटबल हेर्न दर्शक नआएको अवस्थामा दर्शनबिनै गराउनुपर्ने तर्क गरेका छन्। तर मिडफिल्डर बिक्रम यो तर्कमा सहमत छैनन्।
'लामो समय लिग नहुँदा र रंगशाला नहुँदा विगत दुई वर्षदेखि दर्शक नआएका हुन्,' उनको दाबी छ, ' केही वर्षअघिसम्म थ्रिस्टारले रेलिगेसनमा पर्न लागेको टिमसँग खेल्दा पनि रंगशाला भरिन्थ्यो।'
सबै तस्बिरः निशा भण्डारी/सेतोपाटी