राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीलाई दिनुपर्ने भुक्तानी व्यक्तिको नाममा प्रदान गरेको छ।
राखेपले एन्फा कास्कीलाई दिनुपर्ने १७ लाख ७५ हजार ९ सय २० रुपैयाँ भुक्तानी एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङको व्यक्तिगत खातामा जाने गरी बुधबार चेक प्रदान गरेको हो।
क्षेत्रीय खेलकुद समिति पोखराका प्रमुख लक्षमण योगीले राखेपबाटै गुरुङको नाममा भुक्तानी दिनु भन्ने आएपछि चेक प्रदान गरेको बताए।
‘यसअघि पनि पेश्की उहाँकै नाममा दिएका थियौं,' योगीले सेतोपाटीलाई भने, 'राखेपले नै दिनु भनेपछि हामीले दिनै पर्यो।’
यता एन्फा कास्कीका पदाधिकारी भने राखेपले व्यक्तिका नाममा कारोबार गरेको भन्दै असन्तुष्टि जनाएका छन्।
‘संस्थाले काम गरेपछि भुक्तानी पनि संस्थाकै नाममा हुनुपर्थ्यो,' एन्फाका एक सदस्यले सेतोपाटीलाई भने, 'उहाँले दिनुपर्ने ठाउँमा भुक्तानी दिनुभएन भने संस्थाकै बदनाम हुन्छ।’
सरकारले व्यक्तिका नाममा नभई संस्थाको नाममा भुक्तानी दिनुपर्ने भन्दै उनले राखेपले गैरकानुनी कारोबार गरेको बताए।
१३औं दक्षिण एसियाली खेलकुद (साग)मा खेलाडीका लागि चेन्जिङ रुम, रेफ्रिको लागि चेन्जिङ रुम लगायतको संरचना एन्फा कास्कीले बनाएको थियो। त्यतिबेला एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले आफ्नो व्यक्तिगत खातामा रकम जम्मा हुने गरी ५ लाख पेश्कीको चेक पाएका थिए। उनले काम लगाएर भुक्तानी नदिएको भन्दै प्रहरीमा उजुरी परेको थियो।
गुरुङले एन्फामार्फत काम गर्दा दिएको चेक बाउन्स भएको भन्दै प्रहरीमा उजुरी परेपछि उनी हिरासतमा पुगेको थिए। उनको मुद्दा अहिले पनि अदालतमा विचाराधिन छ। उनले काम गर्दा उधारोमा गर्ने र पछि भुक्तानी नदिने गरेको पीडितहरुको भनाइ छ।
गत माघमा मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटनपूर्व गण्डकी प्रदेशका सांसद दीपक मनाङेसँग झगडा भएपछि उनी चर्चामा आएका थिए। मनाङेले त्यतिबेला उनलाई झापड हानेका थिए। त्यतिबेला हिरासतमा पुगेका सांसद मनाङे ६ हजार धरौटीमा रिहा भएका थिए।