राष्ट्रिय महिला लिग फुटबल बुधबारदेखि सुरू भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाडेका छन्।
गोलरहित बराबरीमा सकिएको खेलको सुरुवातमा आर्मी हाबी देखियो। चौथो मिनेटमा आर्मीकी विमला चौधरीको प्रहारलाई पुलिसकी गोलकिपरले विफल पारिन्।
पहिलो हाफ सकिन एक मिनेट बाँकी छदा आर्मीकी रश्मी घिसिङले वान भर्सेस वानमा गोल गर्न गरेको प्रयासमा फेरि पनि पुलिसकी गोलकिपरले असफल पारेकी थिइन्।
खेल सकिन चार मिनेट बाँकी छदा पुलिसकी रेखा पौडेलले पनि पाएको अवसर खेल फालिन्।
कोरोना भाइरसका कारण फुटबल ठप्प भएपछि पहिलो पटक नेपालमा औपचारिक फुटबल प्रतियोगिता सुरु भएको हो। त्यस्तै दशरथ रंगशालामा गत वर्षको ए डिभिजन लिग भएपछि पहिलो पटक खेल भएको हो।
पहिलोपटक डबल राउण्ड रोबिनको आधारमा आयोजना हुन लागेको महिला लिगमा सात टोली सहभागी छन्। जसमा तीन विभागीय टिम र चार स्थानीय तहका टिम प्रतिस्पर्धामा उत्रनेछन्।
नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, चौदण्डीगढी नगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
उद्घाटनपछिका अब एन्फा मैदान सातदोबाटोमा खेल हुनेछन्।
एन्फाले कोरोनाकै कारण गत वर्ष महिला लिगको आयोजना गर्न पाएको थिएन।
प्रतियोगिताको विजेताले रु १० लाख, दोस्रोले रु आठ लाख, तेस्रोले रु पाँच लाख तथा चौथो हुनेले रु तीन लाख प्राप्त गर्ने एन्फाले जनाएको छ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर तथा विधागत उत्कृष्ट खेलाडीले जनही रु ५० हजार पुरस्कार प्राप्त गर्नेछन्।