मोफसलका लागि दुर्लभ जस्तै मानिने ‘फ्डलाइट फुटबल’ तीन वर्षअघि विराटनगरमा भएको थियो। त्यसबेला अस्थायी फ्डललाइटको सहायतामा प्रतियोगिता भएको सहिद मैदानमा आजदेखि स्थायी संरचनामा रात्रीकालीन फुटबल सुरु हुँदैछ।
कोरोना कहर र त्यसले निम्त्याएको लामो लकडाउनले मुर्झाएको प्रदेश १ को फुटबल माहोललाई आजदेखि सुरु हुने विराट गोल्डकपको छैठौं संस्करणले ब्यूँताउने आयोजकको विश्वास छ। कोरोना कहरपछि जिल्ला तहमा फाटफुट रुपमा साना प्रतियोगिताहरु आयोजना भए पनि स्वदेश तथा विदेशका फुटबल टोलीहरु सहभागी भएर सुरु हुन लागेको प्रदेशको यो नै पहिलो प्रतियोगिता हो।
‘प्रदेश १, त्यसमा पनि विराटनगर नेपाली फुटबलको उर्वरभूमि हो’, पूर्व फिफा रेफ्री किरण गिरी भन्छन् ‘विराटगोल्डले डेढ वर्षभन्दा लामो विश्राम तोड्नेछ।’ उनका अनुसार राजधानी बाहिरका सहरमा फ्लडलाइट फुटबल दुर्लभ दृश्य हो। विराटनगरका फुटबलप्रेमीले यसपटक त्यो अवसरको उपयोग गर्नेछन्।
काठमाडौंपछि पहिलोपटक मोफसलमा स्थायी फ्लडलाइट जडान भएपछि अब सहिद मैदानमा रात्रीकालीन खेलकुदको ढोका पनि सधैंका लागि खुला भएको छ। ‘विराटनगर अधिक गर्मी हुने ठाउँ हो, गर्मीबाट यहाँका खेलप्रेमीले राहत पाउनेछन्’, पूर्व रेफ्री गिरीले भने ‘ठूला प्रतियोगिता पहिले जाडो तथा गर्मीका मौसममा दिउँसो गराउनु पर्ने बाध्यता थियो। अब त्यो बाध्यताको अन्त्य भएको छ।’ उनका अनुसार मोफसलको खेलकुदका लागि यो ठूलो उपलब्धि हो।
दुई वर्षअघि अस्थायी फ्लडलाइट जोडेर रात्रीकालीन फुटबल गराउँदा प्रदेश सरकारले त्यसको स्थायी प्रबन्ध गर्ने प्रतिबद्धता जनाएको थियो।
सहिद रंगशालामा प्रदेश १ सरकारको ५ करोड ४२ लाख रुपैयाँको लगानीमा फ्लडलाइट जडान भएको हो। २०७६ असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभिबीच ३२ देखि ३५ मिटरसम्मको उचाइ रहने गरी फ्लडलाइट जडान गर्ने सम्झौता भएको थियो।
सम्झौता अनुसार ४ बटा पोल खडा गरी प्रत्येक फ्लडलाइट फ्रेममा १ हजार वाटको २७ वटा बत्ती जडान भएको छ। ‘मैदान तयार छ, फ्लडलाइटको परीक्षणहरु सम्पन्न भएर उद्घाटन पनि भइसकेको छ’, विराट गोल्डकप फुटबल आयोजक समितिका संयोजक मनोजविक्रम शाहले भने ‘आज रातिदेखि प्रतियोगिता सुरु हुनेछ।’
आयोजक विराटनगर ११ र भारत सिक्किमको युनाइटेड फुटबल क्लबबीचको खेलबाट प्रतियोगिता सुरु हुनेछ। विराट गोल्डकपको विजेताले नगद १५ लाख १५ हजार रुपैयाँ र उपविजेताले नगद ७ लाख ५१ हजार रुपैयाँ पाउने छन्।
मोफसलमा हालसम्म सर्वाधिक राशिको फुटबल प्रतियोगिता खप्तड गोल्डकप हो, जसमा नगद २१ लाख रुपैयाँ पुरस्कार थियो। त्यसपछिको दोस्रो धेरै नगद राशि पुरस्कार रहेको विराट गोल्डकप नै हो। प्रतियोगितामा विभिन्न ७ वटा विधाका उत्कृष्ट खेलाडीले नगद २५ हजार रुपैयाँ पनि प्राप्त गर्ने छन्।
आज रातिदेखि सुरु हुने प्रतियोगिता वैशाख ४ गतेसम्म हुनेछ। प्रतियोगितामा १० क्लबको सहभागिता छ। जसमा नेपालबाट विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको (एपिएफ) , विराटनगर महानगरपालिका ११, मनाङ मस्र्याङ्दी, मछिन्द्र क्लब, गोर्खा ब्वाइज रुपन्देही, संकटा क्लब छन् भने भारतको युनाइटेट सिक्किम, पंजाब पुलिस तथा अफ्रिकन रुट्स एशोसिएसन क्यामरुनका टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन्।
विराटनगरमा २०१८ सालबाट तत्कालीन राजा महेन्द्रको नामबाट गोल्डकप प्रतियोगिता हुँदै आएको थियो। ०६७ मा ट्रष्टको साधारणसभाले प्रतियोगिताको नाम परिवर्तन गरी विराट गोल्डकप नामाकरण गर्दै पुनः प्रतियोगिता थालेको थियो। अघिल्लो वर्ष कोरोना कहरले प्रतियोगिता हुन सकेको थिएन। ‘यसपटकबाट निरन्तर हुने अपेक्षा छ’, संयोजक शाहले भने ‘यसपटकदेखि महानगर, प्रदेश सरकार र निजी क्षेत्रले सहयोग गरेका छन्। त्यसैले प्रतियोगिता नियमित हुनेछ।’