आयोजक टिम विराटनगरले छैठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
बिहीबार राति सकिएको पहिलो खेलमा उसले युनाइटेड फुटबल क्लब सिक्किमको चुनौती २–१ ले समाप्त पारेर दोस्रो चरणको यात्रा तय गरेको हो।
आक्रामक खेलको सुरूवातमा विराटनगर-११ का प्रकाश बुढाथोकीले गोल गरी टिमलाई अग्रता दिलाएका थिए।
खेल सुरू भएको ८ औं मिनेटमा प्रकाशले ३० यार्डदेखि पोष्ट बार च्यापेर गरेको प्रहारले जाली चुमेको थियो।
सुरुमै गोल खाएपछि दबाबमा परेको पाहुना टोली सिक्किमले खेलको १५ औं मिनेटमा खेल बराबरीमा ल्याएको थियो।
सिक्किमका आशिष देवानले कर्नर साइडदेखि निकालेको क्रस पासलाई सदुपयोग गर्दै साङगे छोपेन भुटियाले सानदार गोल गरे।
खेलको २० औं मिनेटमा विराटनगरका सुनिल खड्काले वान भर्सेस वानको अवसर खेर फ्याँकेका थिए।
उनको प्रहार सिक्किमका गोलकिपर अवजित रोयले उत्कृष्ट बचाउ गर्दै विफल पारिदिए।
सिक्किमका भुवन बस्नेतले खेलको २४ औं मिनेटमा डि-बक्स बाहिरदेखि प्रहार गरेको सशक्त प्रहार बाहिरियो।
खेलको ४१ औं मिनेटमा विराटनगरका प्रकाश बुढाथोकीले निकालिदिएको क्रस पास कप्तान दीपक राईले ३० यार्डदेखि गरेको प्रहार पनि बाहिरियो।
पहिलो हाफसम्म १-१ गोलको बराबारी भएको खेलमा दोस्रो हाफदेखि विराटनगर आक्रामक भएर मैदानमा पेश भएको थियो।
दोस्रो हाफको ५३ औं मिनेटमा विराटनगरका प्रकाश बुढाथोकीले डिबक्स भित्रदेखि गरेको प्रहारले जाली चुम्यो। उनको दुई गोलले विराटनगरलाई अर्को चरणको यात्रा तय गराएको हो।
घरेलु दर्शकको साथ र समर्थन पाएको विराटनगरले पाएको गोल गर्ने थुप्रै अवसर खेर फाल्यो। खेलको म्यान अफ दि म्याच विराटनगरका प्रकाश बुढाथोकी भए। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे।
प्रतियोगिताको शुक्रबारको खेल भारतको पञ्जाब पुलिस र गोर्खा ब्वाइजबीच हुनेछ।
विराटनगर-११ का प्रशिक्षक सञ्जीव बुढाथोकीले खेलाडीहरूको मेहनतको कारणले सफलता हात पारेको बताए।
उनले दोस्रो चरणमा रणनीति अपनाएर खेल खेल्ने बताए। ‘थुप्रै गोल गर्ने अवसरबाट हामी चुक्यौं,’ उनले भने, ‘अर्को खेलमा नयाँ रणनीति अपनाएर खेल्नेछौं।’
सिक्किम युनाइटेडका प्रशिक्षक नाडम भुटियाले राम्रो खेल्दा खेल्दै पनि हार व्यहोर्नुपरेको बताए। ‘धेरै गोल गर्ने अवसर केटाहरूले खेर फ्याँके, जसले गर्दा हार सहनुपर्यो,’ उनले भने।
विराट गोल्डकपको विजेताले १५ लाख १५ हजार र उपविजेताले ७ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
वैशाख ४ सम्म हुने प्रतियोगिताका सबै खेल राति हुनेछन्। सहिद मैदानमा स्थायी फ्लडलाइट जडान गरिएको छ। प्रतियोगिताका लागि प्रदेश सरकार र विराटनगर महानगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएका छन्।
प्रतियोगितामा मनाङ मर्स्याङ्दी, मछिन्द्र, संकटा, ब्वाइज युनियन, एपिएफ, नेपाल पुलिस, गोरखा ब्वाइज क्लबसहित भारतको पन्जाब पुलिस क्लब, सिक्किम र अफ्रिकन क्यामरुन टिमको सहभागिता रहने आयोजकले जनाएको छ।