आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १९ औं संस्करणको उपाधि संकटा क्लबले जितेको छ।
पोखरामा शनिबार सम्पन्न फाइनल खेल १/१ गोलको बराबरीमा सकिएपछि खेल ट्राई- ब्रेकरमा प्रवेश गरेको थियो।
अफ्रिकन रुट्सका खेलाडीले पेनाल्टी सुटमा गोल गर्न नसकेपछि नतिजा संकटाको पोल्टामा पुगेको हो।
अफ्रिकन खेलाडी कुइटेको प्रहार गोल पोस्टबाट बाहिरिएको थियो भने अर्का खेलाडी एमबाकोपको पेनाल्टी प्रहार संकटाका गोलकिपर राजाबाबु थापाले जोगाएका थिए। यही २ गल्तीका कारण संकटाले ४–२ गोलको अन्तरमा उपाधि जितेको हो।
टाई–ब्रेकरमा संकटाका अमित तामाङ, सुवास गुरुङ, निरज बस्नेत, आयुष घलानले गोल गरे। संकटाकै सरोज दाहालको प्रहार अफ्रिकनका गोलकिपरले जोगाएका थिए।
अफ्रिकनका यानिक र रिमले मात्र पेनाल्टी सुटमा गोल गर्न सफल भएका थिए।
अफ्रिकन रुट्सका खेलाडी मौसाले खेलको ११ औं मिनेटमै गोल गरेर संकटालाई दबाबमा राख्न सफल भएको थियो।
संकटाले खेलको पहिलो हाफसम्म जवाफी गोल फर्काउन सकेको थिएन।
खेलको ५२ औं मिनेटमा संकटाका खेलाडी ग्लोरीले गोल फर्काएपछि खेल १/१ गोलको बराबरीमा पुगेको थियो। त्यसपछि भने दुबै तर्फका खेलाडीले गोल गर्न सकेनन्।
पेनाल्टी सुटआउटबाट संकटाले आहा रारा गोल्डकपको पहिलो पटक उपाधि उचालेको हो।
१९ औं संस्करण सम्म भएको यस प्रतियोगितामा यसअघि संकटा क्लबले आहा रारा गोल्डकप जित्न सकेको थिएन।
उपाधि जितेसँगै संकटाले नगद १० लाख १ हजार रुपैयाँ पुरस्कार पाएको छ।
प्रतियोगिताको उपविजेता बनेका अफ्रिकन रुट्सले ५ लाख १ हजार रुपैयाँ पुरस्कार पाएको छ।
प्रतियोगितामा संकटा क्लबका गोल किपर राजाबाबु थापा उत्कृष्ट खेलाडी बने। यस्तै, संकटाकै अर्का खेलाडी निरज बस्नेत उत्कृष्ट डिफेन्डर बनेका थिए।
अफ्रिकन रुट्सका राफायल रिम उत्कृष्ट मिडफिल्डर हुँदा अफ्रिकन रुट्सकै बासिकले उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकको उपाधि पनि अफ्रिकन रुट्सका सेर्गी बोरिसले हात पारे।
उनीहरू सबैले पुरस्कार स्वरुप जनही २५/२५ हजार रुपैयाँ पाए।
प्रतियोगितामा नेपाली र विदेशीसहित ८ टिमले सहभागिता जनाएका थिए।