आहा-रारा गोल्डकपकै नियति दोहोर्याउँदै राष्ट्रिय लिग विजेता टोली मछिन्द्र क्लब विराट गोल्डकप फुटबलको पहिलो खेलबाटै बाहिरिएको छ।
आइतबार विराटनगरको सहिद मैदानमा भारतको पन्जाब पुलिसलाई २–० ले नतिजा सुम्पँदै प्रतियोगितामा उपाधिको दाबेदार मछिन्द्र पहिलो खेलबाटै बाहिरिएको हो।
खेलको पूरा अवधि बल नियन्त्रणदेखि पास एक्युरेसीमा पनि अब्बल देखिएको उसले फिनिसिङमा त्यही कला देखाउन नसक्दा हार व्यहोर्नुपर्यो।
तुलनात्मक रूपमा अग्ला खेलाडीले भरिएको पन्जावले होचो कदका नेपाली खेलाडीलाई गोलको कुनै मौका दिएनन्।
अभिषेक रिजाल, खमिर गिल्सन कन्दङ्वालगायतका खेलाडीले उत्कृष्ट प्रर्दशन गरे पनि गोल गर्न नसक्दा मछिन्द्रले विराटनगरमा पनि पोखराकै गति दोहोरियो।
पन्जावका राजविर सिंह र अर्का खेलाडी महाविर सिंहले गरेको एक–एक गोल नेपालको राष्ट्रिय लिग विजेता टोलीलाई स्तब्ध पार्न पर्याप्त रह्यो। जितसँगै पंजाव पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
अब उसले चैत ३१ गते हुने अप्रिकन रुट्स एसोसिएसन क्यामरून र संकटा ब्याइज स्पोर्टिङ क्लब काठमाडौंको विजेतासँग फाइनल यात्राका लागि प्रतिष्पर्धा गर्नेछ।
आइतबार विराटनगरको शहिद रंगशालामा खेलको ३९ औं मिनेटमा राजवीर सिंहको गोलबाट अग्रता लिएको पन्जाबले अर्को गोल दोस्रो हाफमा गरेको थियो। जगदिप सिंहले दिएको क्रस पासलाई राजवीरले वान टचमै गोल गरेका थिए।
आक्रामक भएर मैदान उत्रिएको मछिन्द्रले पंजावलाई दबावमा राखे पनि विपक्षी पोष्टमा बलियो चुनौती पेश गर्नै सकेन।
मछिन्द्रले पाएका गोल गर्ने थुप्रै अवसर खेर फाल्यो। खेलको २० औं मिनेटमा मछिन्द्रका उमेश राईले पेनाल्टी बक्समा पाएको वान भर्सेस वानको अवसर पनि गुमाए। पन्जावका गोलरक्षक सतवीर सिंहले उत्कृष्ट बचाउ गर्दै टोलीको संकट टारेका थिए।
खेलको २२ औं मिनेटमा पंजावका राजवीर सिंहले पेनाल्टीबक्समा बललाई टच गर्न नसक्दा पाहुना टोली थप गोल गर्न चुकेको थियो। ३१ औं मिनेटमा पंजावका तरन्जित सिंहले डिबक्स एरियादेखि गरेको प्रहार पनि बाहिरिएको थियो।
खेलको ५४ औं मिनेटमा मछिन्द्रका निशान्त लिम्बुले पेनाल्टी बक्सबाट गरेको कडा प्रहार बाहिरिँदा गोल फर्काउने अवसरबाट मछिन्द्र बन्चित भएको थियो।
खेलको ५९ औं मिनेटमा पन्जावका राजवीर सिंहले पेनाल्टीबक्सबाट गरेको प्रहार बाहिरिएको थियो। तर खेलको खेलको ८३ औं मिनेटमा महावीर सिंहले गोल गर्दै पञ्जाबको अग्रता दोब्बर बनाए। सरबजीत सिंहले प्रहार गरेको फ्रिकिकलाई उनले वान टचमै पोष्टको दिशा दिएका थिए।
खेलको म्यान अफ द म्याच पन्जाबका जगदिप सिंह घोषित भए।
पन्जावका प्रशिक्षक हर्नेक सिंहले लिग विजेता टिमलाई हराउन पाउँदा खुसी लागेको र त्यसको सबै श्रेय खेलाडीले पाउने प्रतिक्रिया दिए। केही खेलाडी घाइते भएको बताउँदै उनले सेमिफाइनलमा रिकभर गर्ने चुनौती आएको उल्लेख गरे।
मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले नेशनल लिगका कारण सबै खेलाडी उपस्थित नहुँदा सफलता हात नपारेको बताए। उनले यही प्रदर्शनलाई पनि सन्तोषजनक भएको बताए।
सोमबार विभागीय टोली सशस्त्र प्रहरी बल र नेपाल प्रहरीबीच खेल हुनेछ।