विभागीय डर्बीमा नेपाल पुलिसलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
विराटनगरमा जारी विराट गोल्डकप फुटबल अन्तर्गत सोमबार भएको क्वार्टरफाइनलमा विभागीय प्रतिद्धन्द्धी पुलिसलाई २–० ले स्तब्ध पार्दै एपीएफ प्रतियोगिताको अन्तिम चारमा पुगेको हो।
मणि लामा र सुमन लामाले १-१ गोल गरेपछि सशस्त्रको सहज जित निस्किएको हो। अब फाइनल प्रवेशका लागि सशस्त्रको भेट वैशाख १ गते घरेलु टिम विराटनगर ११ सँग हुनेछ।
२०७४ को विराट गोल्डकप विजेता नेपाल पुलिस क्लब यसपटक पनि उपाधिको दाबेदारका रूपमा हेरिएको थियो। तर, पुरानो प्रतिष्पर्धी सशस्त्र उसको सपनाको बाधक बन्यो ।
सुरुदेखि नै दुवै टिम आक्रामक देखिए पनि पुलिसको कमजोर रक्षापंक्तिको फाइदा सशस्त्रले उठायो। पहिलो हाफ गोलरहित बराबरीमा सकियो।
पहिलो हाफ प्रहरीका लागि निकै संघर्षपूर्ण बन्यो। प्रहरीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न नसक्दा पहिलो हाफसम्म दुवै टिमले गोलरहित खेल बराबरी खेले।
एपीएफले दोस्रो हाफको सुरुमै आक्रामक खेल्यो। खेलको ४६ औं मिनेटमा एपीएफका मणि लामाले नेपाल प्रहरीका डिफेन्डरलाई बिट गर्दै प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।
दोस्रो हाफदेखि खेल निकै रोचक बन्न पुगेको थियो। दोस्रो हाफदेखि प्रहरीको एकपछि अर्को प्रहार एपीएफका गोलरक्षक राजु नगरकोटीले विफल पारिदिए ।
खेलको ७१ औं मिनेटमा प्रहरीका रवि पासवानले डिबक्स नजिकदेखि गरेको प्रहार एपीएफका गोल रक्षक राजु नगरकोटीले उत्कृष्ट बचाउ गरिदिए। खेलको ७८ औं मिनेटमा प्रहरीका अन्जन राईले डिबक्स एरियादेखि प्रहार गरेको वानटच बल एपीएफका गोल रक्षक नगरकोटीले उत्कृष्ट रुपमा बचाउँदा खेल बराबरी हुन सकेन।
खेलको इन्ज्युरी समयमा पुलिसका गोलरक्षक रोशन खड्का विपक्षी पोष्टमै पुगेका थिए। पुलिसले अन्तिम समयमा पाएको कर्नर किकको अवसर सदुपयोग गर्न उनी अघि बढेका थिए। त्यहीँ मौकामा सशस्त्रले काउन्टर अट्याकमा एक गोल थप्यो। एपीएफका सुमन लामाले बललाई एक्लै अगाडि बढाएर गोल गर्दै अग्रता दोब्बर पारे।
खेलको म्यान अफ द म्याच एपीएफका मणि लामा घोषित भए। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन् । मंगलबार क्याम्रुन रुट्स र संकटाबीच खेल हुनेछ।